आजबाट नयाँवर्ष आरम्भ, यी राशिका लागि ०७७ साल राम्रो छ

ओकेखबर संवाददाता १ बैशाख २०७७, सोमबार ०६:३८ मा प्रकाशित ( साल अघि) ६१७ पाठक संख्या

श्रीगणेशायनमः ।।  सूर्य उत्तरायणमा छन् । वसन्त ऋतुअन्तर्गत वैशाख कृष्णपक्षको षष्ठी तिथि राति ९।५२ बजेसम्म रहनेछ । यो महिनाका देवता मधुसूदन र मासदेवी मोहिनी हुन् । सूर्य मेष राशिमा र बृहस्पति मकर राशिमा रहेका छन् मूल नक्षत्र राति १२।१९ बजेसम्म रहनेछन् । यसैगरी आज परिघ योग र गर करण रहेका छन् । आज सूर्योदय बिहान ५।४३ मा छ भने सूर्यास्त बेलुका ६।२७ बजे हुनेछ । चन्द्रमा आज धनु राशिमा छन् ।

आजबाट नयाँवर्ष २०७७ साल आरम्भ भएको छ । यसैगरी सूर्य मेषराशिमा संक्रमित भएका छन् । यसैले आज स्नान, सूर्यलाई अर्घदान, पञ्चाङ्गको फल श्रवणका साथै दानादि कार्य फलदायी रहनेछन् ।

यो वर्ष प्रमादी नामको संवत्सर चल्नेछ । सौरमानले भने आनन्दनामक संवत्सर रहने भएकाले वर्ष सुखद् नै रहनेछ । लेखक, संगीतकार, कविआदि वर्गको विशेष उन्नति हुने देखिन्छ । रोगजन्य भयबाट क्रमशः शान्ति हुने देखिन्छ ।

बुध राजा र चन्द्रमा मन्त्री यो वर्षमा रहनेछन् । राजकुमार राजा र राजा मन्त्रीका रूपमा वर्षभरि रहने भएकाले शासकीय महत्त्वकांक्षामा भने वृद्धि हुनेछ । शक्तिको टकराब अधिक रहनेछ । वर्षा एवं वृष्टिका दृष्टिले यो वर्ष सुखद् रहनेछ । कृषि पशुपालनको क्षेत्र पनि उन्नत नै रहनेछ । चन्द्रमा एवं बुधको प्रभावले जलीय वस्तु उन्नत रहनेछन् । सस्येश बृहस्पतिले वकृषिक्षेत्रलाई सुखद् बनाउने देखिन्छ । फलपूलजन्य वस्तुको उत्पादनमा पनि वृद्धि हुनेछ । घिउ, तेल, चिनी आदि वस्तुको मूल्यमा भने केही वृद्धि हुनसक्ने देखिन्छ ।

धनेश बृहस्पति रहेकाले वाणिज्यको क्षेत्र पनि सुखद् नै रहनेछ । वर्षको आरम्भमा नीच बृहसपतिको प्रभावले व्यापार व्यवसाय सामान्य रहने देखिन्छ । व्यापारका दृष्टिले वर्षको उत्तराद्र्ध उन्नत रहनेछ । राजनीतिक नेतृत्वको क्षमतामा भने कमी रहनेछ । यसैगरी राज्यको व्ययभारमा पनि वृद्धि हुने देखिन्छ । शुक्रको प्रभावले विलासिताका वस्तुमा राज्यकोषको खर्च बढ्नेछ । यसैगरी वर्षकुण्डलीको अष्टमस्थानमा रहेका राहुले रोग निवारणमा अधिक खर्च हुने देखिन्छ ।
तपाईलाई नयाँवर्ष सुखद् रहोस्, हार्दिक मंगलमय शुभकामना ।


सम्बन्धित खबरहरु