शनिबारसम्म कुस्मा, जलजला, फलेबासलगायत स्थानीय तहका ९६ जनाको जनाको स्वाब संकलन गरिसकिएको निमित्त मेडिकल सुपरिटेन्डेन्ट शिशिर देवकोटाले बताए ।
सबै परीक्षण र्यापिड किटमार्फत गरिने देवकोटाले बताए । बागलुङमा दुई जनामा संक्रमण पुष्टि भएसँगै पर्वतका सम्भावित सबैलाई परीक्षण गर्न थालिएको हो । पीपीई सीमित मात्र रहेकाले प्रत्येक पालिकाको केन्द्रमा त्यस्ता व्यक्ति भेला गराएर सुरक्षित तरिकाले स्वाब निकाली प्रयोगशाला पठाउन लागिएको देवकोटाले बताए ।
जिल्लामा सय थान र्यापिड डायग्नोस्टिक टेस्ट किटमार्फत परीक्षण थालिएको अस्पतालले जनाएको छ । प्रदेश सरकारमार्फत प्राप्त सय थान किट प्रयोग गरेर शुक्रबारदेखि परीक्षण थालिएको अस्पताल प्रमुख देवकोटाले बताए ।
स्वास्थ्य कार्यालयका अनुसार जिल्लामा चैतयता ३ सय १६ जना विदेशबाट फर्किएका छन् । भारतबाट मात्रै २ सय १३ जना आएका छन् । यसरी आएका कतिपयको तथ्यांक पत्ता लगाउन कठिन भएको छ । पैयुँमा भारतबाट फर्किएका केही व्यक्तिसँग सम्पर्क हुन नसकेको गाउँपालिकाका अध्यक्ष खगेन्द्र तिवारीले बताए ।