अस्पतालमा उपचारको क्रममा रहेका कोरोना सङ्क्रमित दुवै जनाको दुई दिनभित्र आउने अन्तिम रिपोर्ट नेगेटिभ देखिएमा डिस्चार्ज गरिने अस्पताल निर्देशक डा. सागर राजभण्डारीले जानकारी दिए ।
टेकु अस्पतालमा अहिले कोभिड शङ्कास्पद नौ जनाको उपचार भइरहेको छ । यीमध्ये दुई जनामा कोभिड पोजेटिभ देखिएको छ भने बाँकी सात जनाको नेगेटिभ छ । तर पनि विभिन्न कारणले गर्दा सात जनालाई अस्पतालमै राख्नुपर्ने अवस्था भएको अस्पतालले जनाएको छ ।
यसअघि नेपालमा पहिलोपटक कोभिडको सङ्क्रमण फेला परेका एक नेपाली उपचारपछि घर फर्किसकेका छन् । कोभिड पहिलोपटक देखापरेको चीनको वुहान शहरबाट अएका उनी उपचारपछि घर फर्किएका थिए । नेपालमा दोस्रोपटक गत चैत १० गते १९ वर्षीया युवतीमा कोभिडको सङ्क्रमण देखापरेको थियो ।
नेपालमा हालसम्म नौ जनामा कोभिडको सङ्क्रम देखिए पनि एक जना उपचारपछि घर फर्किसकेका छन् । नेपालमा दोस्रो पटक गत चैत १० गते कोभिडको नयाँ सङ्क्रमित फेला परेको थियो । चैत ४ गते कतार एयरवेजको जहाजमार्फत फ्रान्सबाट कतार हुँदै नेपाल आएकी १९ वर्षीया युवतीमा कोभिड–१९ पोजेटिभ देखिएको थियो ।
त्यस्तै चैत १२ गते पुनः एक जनामा कोभिड पोजेटिभ देखिएको थियो । कोभिड पोजेटिभ देखिएका ती पुरुष व्यक्तिको विस्तृत विवरण खुलाइएको छैन । यस्तै चैत २० गते बागलुङ्का ६५ वर्षीया एक ज्येष्ठ नागरिकमा कोभिड पुष्टि भएको थियो ।
पछिल्लो पटक चैत २२ गते एकै सुदूरपश्चिममा एकै दिन थप तीन जनामा कोभिड सङ्क्रमण भेटिएको थियो । भारतको मुम्बईबाट फर्किएका कैलालीका २१ वर्षीय र उत्तराखण्डबाट फर्किएका कञ्चनपुरका ४१ वर्षीय पुरूष तथा कैलालीको ३४ वर्षीया महिलामा कोभिड–१९ को सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।
मन्त्रालयले थप नयाँ व्यक्तिमा कोभिडको सङ्क्रमण नदेखिएको र सङ्क्रमितको अवस्था पनि सामान्य रहेको शुक्रबारको नियमित पत्रकार सम्मेलनमा जानकारी दिएको थियो । मन्त्रालयको तथ्याङ्कअनुसार हालसम्ममा तीन हजार ५२४ व्यक्तिको कोरोना सङ्क्रमणको नमूना परीक्षण गरिएको छ ।
हिजो मात्रै ६३० परीक्षण गरिएको थियो । आठ सय बढी परीक्षणको क्रममा छ । हाल नेपालभरि आठ हजार ६६० जना क्वारेन्टाइनमा छन् । आइसोलेसनमा रहेका व्यक्तिको संख्या १२५ रहेको मन्त्रालयले उल्लेख गरेको छ ।