तत्काल लकडाउन खुकुलो नगर्न डब्लूएचओको चेतावनी

ओकेखबर संवाददाता २९ चैत्र २०७६, शनिबार १०:५७ मा प्रकाशित ( साल अघि) ५३१ पाठक संख्या

एजेन्सी । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले विश्व महामारी कोरोना भाइरस (कोभिड–१९) को संक्रमण नियन्त्रणका लागि तत्काल लकडाउन वा अरु प्रतिबन्ध फुकुवा नगर्न सुझाव दिएको छ ।

विश्वभर सामाजिक दूरी कायम राख्न गरिएका प्रयास छिटै खुकुलो पार्दै जाने हो भने कोरोना भाइरस संक्रमितको संख्या उल्लेख्य मात्रामा बढ्न सक्ने चेतावनी दिएको हो ।

 

डब्लूएचओका महानिर्देशक डाक्टर टेड्रोस गेब्रेससले प्रतिबन्धहरु फुकुवा वा खुकुलो बनाउँदा सङ्क्रमणको पुनरावृत्ति हुनसक्ने भएकाले सचेत बन्नुपर्नेमा जोड दिनुभयो । प्रतिबन्धका कारण आर्थिक समस्या वा संकट आउने भए पनि त्यसले मानव जीवनको रक्षा गरिरहेको उहाँको भनाइ छ ।

 

डब्लूएचओले विश्वका सरकारसँग अहिले चलिरहेको प्रतिबन्ध फुकुवा गर्ने वा खुकुलो पार्ने सम्बन्धमा रणनीति बनाइरहेको पनि जानकारी दिए । तर त्यसका लागि हतारो भने नगरिने बताएका छन् ।

विश्वका २ सय १० देश र दुई वटा पानी जहाजमा कोरोना फैलिँदा ज्यान गुमाउनेको संख्या १ लाख नाघिसेकेको छ । अहिलेसम्म झण्डै १७ लाख मानिसमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । ३ लाख ७६ हजारभन्दा धेरै मानिस उपचारपछि निको भएका छन् ।

इटाली र अमेरिकामा मात्रै १६ हजार भन्दा धेरै मानिसको ज्यान गैसकेको छ ।


सम्बन्धित खबरहरु