सीमामा अलपत्र नागरिकलाई स्वदेश ल्याउन सर्वोच्चको आदेश

ओकेखबर संवाददाता २६ चैत्र २०७६, बुधबार ०७:१२ मा प्रकाशित ( साल अघि) ३३१ पाठक संख्या

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट बच्न भन्दै भातरबाट आएका सीमा क्षेत्रमा अलपत्र नागरिकलाई स्वदेश ल्याउन सरकारलाई आदेश दिएको छ । सीमामा रोकिएका नागरिकको न्याय माग्दै परेका दुई रिटको मंगलबार एकसाथ सुनुवाइ गर्दै सर्वोच्चले उद्धार गर्न भनेको हो ।

 

‘नेपाल–भारत सीमामा रहेका नेपाल आउन इच्छुक नेपाली नागरिकलाई स्वदेश ल्याएर निश्चित समय क्वारेन्टाइनमा राख्ने व्यवस्था मिलाउनू,’ न्यायाधीशद्वय दीपककुमार कार्की र डा। मनोजकुमार शर्माको इजलासले दिएको अन्तरिम आदेशमा भनिएको छ । अधिवक्ता मीना खड्का बस्नेत र मनीषकुमार श्रेष्ठलगायतले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयसमेतलाई विपक्षी बनाएर सर्वोच्चमा रिट दायर गरेका थिए ।

 

तत्काल ल्याउन सम्भव नभए उनीहरूलाई हाल रहेकै ठाउँमा बस्ने, खाने र स्वास्थ्योपचारको उचित प्रबन्ध गर्न आदेश दिएको छ । ‘तत्काल फिर्ता गर्न सम्भव नभए भारत सरकारसँग समन्वय गरेर निजहरूलाई खाने, बस्ने तथा उपचारको यथोचित व्यवस्था मिलाउन पहल गर्नू,’ सर्वोच्चले भनेको छ ।

 

हाल सीमा क्षेत्रमा करिब २१ सय नेपाली अलपत्र छन् । सयौँलाई एकैठाउँमा कोचाकोच गरेर राखिएको छ । भारतीय सरकारको समन्वयमा राखिए पनि बस्न, खान र उपचारको उचित व्यवस्था नभएको गुनासो उनीहरूले गरिरहेका छन् । क्वारेन्टाइनको नाममा गरिएको अव्यवस्थित बसाइबाटै संक्रमणको जोखिम रहेको चिन्ता उनीहरूको छ ।


सम्बन्धित खबरहरु