“खै यो लकडाउन कति दिन लम्बिने हो, दाना, पराल सबै सकिएको छ”, उहाँले भन्नुभयो, “व्यावसायिक गाई पालन थालेको एक दशक बित्यो तर यस्तो दुःख त पहिलो पटक भोग्नु पर्यो।” नाकाबन्दीको समयमा पराल तथा दाना आपूर्तिमा सामान्य समस्या भोगे पनि अहिलेको जस्तो त कल्पना नै नगरेको उहाँले बताउनुभयो । एक दशकअघि पटकपटक बारीको तरकारी खाइदिएर हैरान पारेको बेवारिसे गाई विसं २०६६ चैतमा समातेर बाँधेका उहाँले त्यस यता गर्दै आएको गाईपालन अहिले भने आचार्य गाई फार्ममा परिणत छ ।
गाईपालनसँगै तरकारी खेतीका लागि मल पर्याप्त हुन थालेपछि उहाँले गाईपालन र तरकारी खेतीलाई सँगसँगै अघि बढाउनुभएको छ । गाईफार्ममा डेढ करोडभन्दा बढी लगानी गरिसकेका उहाँलाई अहिले भने दाना र पराल अभाव भएपछि भएका गाई कसरी बचाउने भन्ने चिन्ताले पिरोलेको छ । पैसा कमाउने इच्छासँगै १४ वर्षेको कलिलै उमेरमा भारतको केरलामा पुगेका आचार्यले डेढ दशक विदेशमै बिताउनुभयो । त्यहाँको बसाइँले उहाँलाई स्वदेशमा नै केही गनुपर्छ भन्ने पाठ मात्र सिकाएन, अरुका लागि पनि अनुकरणीय बन्नुभयो ।
घरपरिवारको जीविकोपार्जन त छँदै छ आम्दानीका साथै अरुलाई पनि रोजगारी दिँदै आएका आचार्यले अहिले भने लकडाउनका कारण व्यवसाय धान्न नै मुस्किल परेको गुनासो गर्नुभयो । उहाँका अनुसार लकडाउन शुरु भए लगत्तैदेखि पराल तथा दाना सकिएका कारण दूधको उत्पादन पनि घटेको छ । “लकडाउन अघि दैनिक ३०० लिटरसम्म दूधको उत्पादन हुने गर्दथ्यो अहिले भने २०० लिटर पुर्याउन पनि धौं धौं हुने गरेको छ,” उहाँले भन्नुभयो, “दाना पराल पर्याप्त नभपछि दूधमा गुणस्तर कम हुँदै फ्याट कमी भएपछि विगतको मूल्य समेत पाउन सकिएको छैन ।”
दूध सङ्कलन केन्द्रमा पुर्याइने दूध पनि फ्याटको आधारमा प्रतिलिटर ५५/५६ रुपैयाँ लिने गरेकामा अहिले फ्याट कम हुन थालेपछि प्रतिलिटर ५० को हाराहारीमा झर्ने गरेको कृषकको गुनासो छ । लकडाउनका कारण बजारमा बसोबास गर्दै आएका अधिकांश गाउँ फर्केपछि दूधका उपभोक्ता घटेसँगै उत्पादित दूधले पनि बजार नपाएको उहाँले दुःखेसो पोख्नुभयो । उहाँका अनुसार दूधले बजार नपाएपछि दुहेको दूध पनि आधाआधी गाईलाई नै खुवाउनुपर्ने बाध्यता बनेको छ ।
गाईपालनसँगै तरकारी खेती समेत गर्दै आएका आचार्यको बारीमा यतिखेर बन्दा छिप्पिँदै गएका छन् । यतिखेर तरकारी खेतीबाट ६० हजार रुपैयाँसम्म आम्दानी गर्ने सोच राखेको बताउँदै उहाँले बन्दाका लागि बजार नपाए पछि उक्त सोचाई पनि सपना जस्तै बनेको पीडा व्यक्त गर्नुभयो ।