विहीबार बसेको उक्त बैठकले खाद्य तथा अत्यावश्यक वस्तु र ठूला आयोजनाहरुलाई सञ्चालन गर्न दिने निर्णय गरेको हो । त्यस्तै उद्योग भित्रनै कामदारलाई सुरक्षित राखेर स्वास्थ्यका मापदण्डहरु पुरा गरि सञ्चालन गर्न दिने निर्णय पनि गरेको छ ।
अर्थमन्त्री तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडाले उद्योगभित्र कामदारलाई सुरक्षित राखेर चलाउन दिने र स्थानीय प्रशासनले त्यस किसिमको व्यवस्था मिलाउने निर्णय बैठकले गरेको जानकारी दिए । उनले अब तामाकोशी, मेलम्ची लगायत ठूला आयोजनामा काम गर्ने कामदारलाई उद्योगभित्र नै सुरक्षाको व्यवस्था मिलाई काम गर्न सकिने बताए । त्यसैगरी, हिउँदे बाली काट्ने र वर्षे बाली गर्ने लगायत कृषि कार्यका लागि वाह्य कृषि श्रमिक नल्याई काम गर्न अवरोध नगर्ने निर्णय पनि बैठकले गरेको छ ।
बैठकले अत्यावश्यक औषधी, दैनिक उपभोग्य सामाग्री तथा खाद्य सामाग्रीको सहज आपूर्ति गराउनका लागि आवश्यक ढुवानीका साधन सञ्चालन गर्न दिइने भएको छ । यस्तै, बैठकले नेपाल भारत सीमास्थित क्वारेन्टाईनमा बसेकालाई अप्ठ्यारो पर्न नदिने गरि दुवै तर्फबाट आपसमा सहयोग गरि सबैलाई १४ दिन अनिवार्य क्वारेन्टाईनमा राखेर मात्रै सीमा पार गर्न दिने गरि व्यवस्था मिलाउने निर्णय गरेको छ ।