सीमामा अलपत्र नागरिकको सुख्खाबन्दरगाहमा व्यवस्थापन

ओकेखबर संवाददाता २० चैत्र २०७६, बिहीबार २१:१२ मा प्रकाशित ( साल अघि) ३२८ पाठक संख्या

राँझा । बाँकेको जमुनाह नाकामा अलपत्र परेका नेपाली नागरिकलाई दशगजास्थित सुख्खाबन्दरगाह क्षेत्रमा टेन्टमा अस्थायी क्वारेन्टाइन बनाएर व्यवस्थापन गरिएको छ ।

भारतका विभिन्न ठाउँबाट घर फर्किएका १७९ नेपाली चार दिनदेखि नेपाल भारत सीमानाको दशगजा क्षेत्रमा अलपत्र परेका थिए । नेपाल र भारतका सुरक्षा अधिकारीको आज बसेको संयुक्त बैठकमा अलपत्र नागरिकलाई दुवै देशले व्यवस्थित तरिकाले क्वारेन्टाइनमा राख्ने सहमति भएको थियो ।

उक्त निर्णय अनुसार नेपाली नागरिक भारतीय क्वारेन्टाइनमा बस्न जान नमानेपछि दशगजा क्षेत्रस्थित सुख्खा बन्दरगाहमा क्वारेन्टाइन बनाएर राख्ने निर्णय भएको बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले जानकारी दिनुभयो ।

उहाँका अनुसार, भारतमा लगेर व्यवस्थित तरिकाले राख्ने नेपाल र भारतीय सुरक्षा अधिकारीबीचको सहमति अनुसार लैजाने तयारी हुँदा अलपत्र नागरिकले अस्वीकार गरेपछि आज दशगजा नजिकै सुख्खा बन्दरगाहमा टेन्टको अस्थायी क्वारेन्टाइन बनाएर राखिएको हो । टेन्टमा नियमित स्वास्थ्य जाँच गर्ने र १४ दिनपछि उनीहरुलाई घरजाने व्यवस्था मिलाइने छ ।

सीमा नाकामा अलपत्र पर्नेमा बाँकेका २७, बर्दियाका १४, दाङका ३१, सल्यानका नौ, जुम्लाका १५, सुर्खेतका सात, डोल्पाका तीन, अछामका पाँच, प्युठानका दुई, रोल्पाका १३, रुकुमका १०, सप्तरीका एक, उदयपुरका एक, स्याङ्जाका दुई, दैलेखका १०, झापाका पाँच, रुपन्देहीका एक, नवलपरासीका दुई, मुगुका दुई र अर्घाखाँचीका एक व्यक्ति रहेका छन् ।


सम्बन्धित खबरहरु