अत्यावश्यक सामग्री नपाउँदा जीवन कष्टकर

पूर्णप्रसाद मिश्र २० चैत्र २०७६, बिहीबार १९:४५ मा प्रकाशित ( साल अघि) २९५ पाठक संख्या

काठमाडौं । कोरोना भाइरसको सङ्क्रमणबाट बच्न जारी लकडाउनका क्रममा बजारमा अत्यावश्यक खाद्य सामग्री नपाउँदा जीवन कष्टकर बन्न थालेको उपभोक्ताको गुनासो छ ।

लकडाउनको १०औँ दिन पूरा हुँदा यसअघि घरघरमा भएको खाद्य सामग्री सकिएर खोज्न बजार गए पनि अत्यावश्यक चिनी, नून, ग्यास, चामल, पीठो, चिउरालगायत वस्तु सहजरुपमा पाउन नसकिएको काठमाडौँ महानगरपालिका वडा नं ६ बौद्ध महाङ्कालका डोमा शेर्पाले गुनासो गर्नुभयो ।

 

बिहान बेलुका केहीबेर सीमित पसल खुल्ने गरेकामा घरमा आवश्यक सामान माग्दा सकिएको भनी व्यापारीले बताउने गरेका उहाँले सुनाउनुभयो । पसलमा समेत होलसेलबाट सामान नआउँदा बिक्री वितरण हुन सकेको छैन । गोकर्णेश्वर नगरपालिका वडा नं २ मा किराना पसल व्यवसाय गरिरहनुभएका मदन श्रेष्ठ होलसेलबाट सामान ल्याउनु नै चुनौतीपूर्ण बन्न लागेको बताउनुहुन्छ । पसलमा सामान आए उपभोक्तालाई दिन समस्या नहरेको व्यवसायीको भनाइ छ ।

 

आपूर्ति सहज नभएको भन्दै होलसेल व्यवसायीले पनि सामान दिन मानेका छैनन् । होलसेलमा भण्डार गरिएको सामान सकिएको होलसेल व्यवसायीको गुनासो हुने गरेको छ । सरकारले ग्यास आयात भइरहेको भन्दाभन्दै आधा सिलिण्डरमात्र दिनुले बजारको अवस्था बुझ्न सकिने उहाँको भनाइ छ । अघिल्लो दिनसम्म ग्यास आपूर्ति सहजरुपमा भइरहेको छ मौज्दात राख्नुपर्दैन भन्ने सरकारी नियन्त्रणको नेपाल आयल निगमले नै बजारको वर्तमान वातावरण चित्रित गर्ने व्यवसायी श्रेष्ठको बुझाइ छ ।

डिपार्टमेन्टल स्टोरलाई घरघरमा सामान पु¥याउन लगाउने भनी घोषणा गरिएकामा त्यो प्रभावकारी हुन नसकेको उपभोक्ता बताउँछन् । उपभोक्ता मञ्चका उपाध्यक्ष रोशन पोखरेल सङ्घीय, प्रदेश र स्थानीय तीनै तहका सरकारले अत्यावश्यक सामग्री जुटाइदिने घोषणा गर्ने तर कार्यान्वयन नगर्ने अवस्थाबाट गुज्रिएकाले लकडाउनमा उपभोग्य वस्तु पाउन कठिन भएको बताउनुहुन्छ ।


सम्बन्धित खबरहरु