किसानलाई गहुँ थे्रसिङ गर्न सास्ती

ओकेखबर संवाददाता २० चैत्र २०७६, बिहीबार १८:२३ मा प्रकाशित ( साल अघि) २७६ पाठक संख्या

कञ्चनपुर । कञ्चनपुरका किसान यतिवेला गहुँ काटनमा व्यस्त छन् । गहुँ काटन शुरु गरेपनि गहुँ थे्रसिङ गर्नका लागि थ्रेसरको अभाव भएपछि उनीहरु सास्ती खेप्न बाध्य भएका छन् ।

कोरोना भाइरसको सङ्क्रमण रोकथामका लागि सरकारले मुलुकभर लागू गरिएको लकडाउनका कारण केही ट्रयाक्टर सञ्चालकले मात्रै गहुँ थे्रसिङ गर्दै आएका छन् । वाह्य क्षेत्रबाट गहुँ थे्रसिङका लागि ट्रयाक्टर ल्याउन निषेध गरिन थालेपछि गहुँ थे्रसिङ गर्न किसानले सास्ती खेप्नु परेको हो । खेतमा गहुँ पाकीसकेको छ ।

 

“गहुँ काटन थालेका छौं”, कृष्णपुरका किसान जीवन चौधरीले भन्नुभयो, “गहुँ थे्रसिङ गर्नका लागि निकै समस्या भएको छ । वाह्य क्षेत्रबाट थे्रसिङका लागि ट्रयाक्टर ल्याउन नदिँदा समस्या भएको छ ।” वाह्य क्षेत्रबाट थे्रसिङका लागि ट्रयाक्टर ल्याउँदा त्योसंगै मजदूरहरु पनि आउने भएकाले कोराना भाइरसको सङ्क्रमण हुन सक्ने आशङ्कामा वाह्य क्षेत्रका ट्रयाक्टर निषेध गरिन थालेको बताइएको छ ।

थे्रसिङको अभाव भएपछि धेरै किसानले लकडाउन खुल्ने आशामा गहुँ काटेका छैनन् । “मुलुक लकडाउन भएका बेला गहुँ थे्रसिङ गर्न ट्रयाक्टर अभाव भएपछि गहुँ काटेका छैनौं”, स्थानीय किसान वीरबहादुर राजवंशीले भन्नुभयो, “लकडाउन खुलेपछि गहुँ काटने योजना बनाएका छौं । ”

ट्रयाक्टर खोज्न नसक्दा काटेका गहुँ पनि खेतमै थन्क्याउन बाध्य भएका छन्, यहाँका किसान । किसानहरुले स्थानीय तहसंग सहज रुपमा गहुँ थे्रसिङको व्यवस्था मिलाई दिन र ट्रयाक्टरका लागि इन्धनको व्यवस्था गर्न आग्रह समेत गरेका छन् ।


सम्बन्धित खबरहरु