लकडाउन : कृषि उत्पादनले बजार पाएन

ओकेखबर संवाददाता २० चैत्र २०७६, बिहीबार १६:१० मा प्रकाशित ( साल अघि) २५८ पाठक संख्या

रामपुर । विश्व महामारी कोरोनो भाइरस को सम्भावित जोखिम हुन नदिन लकडाउन भएपछि कृषक वढी समस्यामा परेका छन् । तरकारी तथा दूध बिक्री गर्न नपाएको कृषकको गुनासो छ ।
रामपुर नगरपालिका–८ मा सञ्चालित रामपुर एग्रोफार्ममा दैनिक ११ कार्टुन अण्डा उत्पादन भइरहेको छ । तर बजारमा बिक्री गर्न नपाउँदा समस्या परेको सञ्चालक भुवन अर्याल बताउनुहुन्छ । “अण्डा उत्पादन भइरहेको छ, बिक्री गर्न पाइएको छैन, १२० कार्टुन अण्डा मौज्दात छ तर बिक्री नहुँदा व्यवसाय धान्नै मुस्किल परेको छ” उहाँले भन्नुभयो । उहाँको फार्ममा हाल तीन हजार लेयर्स जातको कुखुरा छ ।

 

दाना मात्रै दैनिक छ बोरा खुवाउनुपर्छ तर अण्डा बेच्न नपाउँदा ठूलो समस्या परेको हुँदा बिहान साँझको समय तालिका बनाएर बिक्री गर्ने वातावरण नगरपालिकाले मिलाइदिन उहाँ आग्रह गर्नुहुन्छ । लकडाउनको अवस्थामा कृषकलाई दाना आयात गर्न कठिनाइ परेको छ । सवारीसाधन आवतजावतमा रोक लगाएपछि दाना आयात गर्न नपाउँदा पशुपालक तथा कुखुरापालक कृषकलाई व्यवसाय धान्नै गाह्रो परेको छ ।

रामपुर–८ रानीबासका हरिप्रसाद आचार्यको फार्ममा दैनिक सात पेटी अण्डा उत्पादन हुन्छ । लकडाउनले गर्दा फार्ममा रहेको ६० पेटी अण्डा बिक्री गर्न नपाएको उहाँको गुनासो छ । भैँसीपालक कृषक नरनारायण अर्यालले पनि लकडाउनको शुरुका चार दिन दूध दुहेर भैँसीलाई नै खुवाउन बाध्य हुनुभयो । दूध बिक्री गर्न बजार जान नपाएपछि करिब ६०० लिटर दूध दुहेर भैँसीलाई नै खुवाएको उहाँ बताउनुहुन्छ । “शुरुका चार दिन धेरै समस्या भयो, दूध दुहेर भैँसीलाई खुवाउनुपर्ने स्थिती पनि आयो, अहिले दिनको एक पटक मात्रै बिहानै ६ नबज्दै डेरी पसलमा लगेर दिने गरेको छु” अर्यालले भन्नुभयो ।

उहाँको फार्ममा हाल ५९ वटा उन्नत जातका भैँसी छन् । उहाँले दैनिक १६० लिटर दूध बिक्री गर्नुहुन्छ । लकडाउनले भँैसीलाई दानापानी खुवाउन कम गर्नुपरेको उहाँको भनाइ छ । पहिलेको तुलनामा आधा दानापानी खुवाउन कम गर्नुभएको छ । रामपुर ६ तालपोखराका तरकारी उत्पादक कृषक नारायणप्रसाद भण्डारीले उत्पादन गर्नुभएको काक्रो रातको समयमा व्यापारीलाई घरमै बोलाएर बिक्री गर्नुभएको छ ।

लकडाउनले गर्दा कृषकहरुलाई उत्पादित वस्तु बजारसम्म पुर्याउन समस्या परेको छ । बिहान साँझ समय तोकेर उत्पादन भएका वस्तु बिक्री गर्ने वातावरण मिलाउन कृषकको अनुरोध छ । गाईलाई खुवाउन दाना र घाँसको अभाव भएको छ ।

रामपुर नगरपालिका वडा नं ६ को तातोपानीधाममा एक महिना अघिबाट मात्र सञ्चालनमा आएको गौशालामा हाल १३५ गाई छन् । गाईलाई खुवाउन दाना घाँसको अभाव परेपछि स्थानीयसँग घाँसपात दाना जुटाइदिन आग्रह गरिएको गौशाला संरक्षण समितिका अध्यक्ष तथा वडा अध्यक्ष हुमनाथ न्यौपानेले बताउनुभयो ।
रामपुर नगरपालिकाभित्र छाडा छाडिएका र हेयका रुपमा लिइएका गाईलाई संरक्षण गर्न नगरपालिकाले गौशाला निर्माण गरेको हो । अघिल्लो आर्थिक वर्ष र यस आर्थिक वर्षमा गरी २०÷२० लाख रकम नगरपालिकाले गौशाला निर्माणमा सहयोग गरेको छ ।


सम्बन्धित खबरहरु