काठमाडौं ।छिमेकी मुलुक चीनको ग्वाङ्जाओबाट मेडिकल सामग्री लिन नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइड बडी ए ३३० जहाज त्यसतर्फ प्रस्थान गरको छ ।
कोरोना भाइरसको औषधि तथा उपकरण लिन चार्टर्ड गरिएको सो जहाज ग्वाङजाओ उडेको हो । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट विहान ११ः३० मा उडान भरेको सो जहाज ग्वाङजाओ पुगेर आजै राति काठमाडौँ फर्कने विमानस्थलका महाप्रवन्धक देवेन्द्र केसीले जानकारी दिनुभयो ।
यसअघि बुधबार अष्ट्रेलियन र न्यूजील्याण्डका नागरिक बोकेर मलेसिया हुदैँ अष्ट्रेलियाको शहर ब्रिशवन पुगेको निगमको अर्को वाइड बडी जहाज पनि आजै राति फर्कने उडान तालिका रहेको छ ।
यसअघि चैत १६ गते निगमको वाइड बडी जहाजले ग्वाङ्जाओबाट करिब १३ हजार स्वास्थ्य सामग्री ल्याइएको थियो ।
देश लकडाउनको अवस्थामा निगमले विभिन्न मुलुकमा चार्टर्ड तथा कार्गो उडान गरिरहेको छ । चीनका साङ्घाईलगायत गन्तब्य र श्रीलंकाको कोलम्बो उडानका लागि पनि प्रक्रिया अघि बढेको निगमले उल्लेख गरेको छ ।
्