कोभिड–१९ : नेपालभरी ११ सय ३३ को नमुना परीक्षण

ओकेखबर संवाददाता १९ चैत्र २०७६, बुधबार १९:४५ मा प्रकाशित ( साल अघि) ३८३ पाठक संख्या

काठमाडौं । कोभिड १९ को आशंकामा आजसम्म ११ सय ३३ को नमुना परीक्षण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा भएको पत्रकार सम्मेलनमा मन्त्रनालयका प्रवक्ता डाक्टर विकास देवकोटाले देशभर अहिले सम्म १ हजार १ सय ३३ को नमुना परीक्षण गरिएको जानकारी दिनुभएको हो ।

उहाँले कोरोना भाइरसका पोजेटिभ केससँग सम्पर्कमा रहेका तथा नजिकका आफन्तको पछिल्ला नमुना परीक्षण नेगेटिभ आएको बताउनुभयो । उहाँले कोरोना संक्रमणको पोजेटिभ देखिएका केसको अहिले सम्म ८४ प्रतिशत काम सम्पन्न भएको पनि बताउनुभयो ।

 

डाक्टर देवकोटाका अनुसार, धनगढीको कोरोना पोजेटिभ देखिएका व्यक्तिको परिवार, नजिकको सम्पर्कमा रहेका व्यक्तिहरुको नमुना संकलन भईसकेको र परीक्षणको क्रममा रहेको छ । महामारी नियन्त्रण तथा रोकथाममा कन्ट्रायाक्ट ट्रेसिङ अत्यन्तै महत्वपुर्ण भएकाले विश्व स्वास्थ्य संगठनको मापदण्ड बमोजिम पोजेटिभ देखिएका व्यक्तिको परिवार तथा नजिकको सम्पर्कमा रहेका व्यक्तिहरुलाई क्वारेन्टाईनमा राखेर आवश्यकता अनुसार नमुना परीक्षण गर्ने गरिएको उहाँले बताउनुभयो ।

डाक्टर देवकोटाका अनुसार, काठमाण्डौ बाहिरको प्रयोगशाला विस्तारको काम तिब्र गतिमा भईरहेको छ । उहाँले पोखरामा परीक्षण सुरु भएको र ४ वटा परीक्षण रन भईरहेको , धरानमा १२ वटा नमुनाको परीक्षण रन भईरहेको तथा हेटौडामा बुधबार साझ सम्म परीक्षणको काम सुरु हुने जानकारी गराउनुभयो । अहिलेसम्म मन्त्रालयको निशुल्क कल सेन्टरमा ६ हजार ९ सय भन्दा बढी कलहरु आएको र गएको २४ घण्टामा आएका २ हजार ३ सय २३ वटा कलको सम्बोधन भईसकेको बताउनुभयो ।


सम्बन्धित खबरहरु