“हामीलाई उक्त कम्पनीले भनेको समयमा औषधिजन्य सामग्री ल्याउन नसक्ने जनाएको छ”, उहाँले भन्नुभयो, “त्यसैले उक्त कम्पनीसंँग औषधि ल्याउने सहमति रद्द गरिएको हो ।” उहाँले सम्झौतानुसार उक्त कम्पनीले १८ प्रतिशत रकम खर्च गरेर १० प्रतिशत मात्र औषधि ल्याएको जानकारी दिनुभयो ।
उहाँले सहमतिअनुसार औषधि नल्याएको हुनाले उक्त कम्पनीको धरौटी जफत गर्नाका साथै कालोसूचीमा राख्नका लागि सम्बन्धित निकायलाई अनुरोधसमेत गरिने जानकारी दिनुभयो । महानिर्देशक श्रेष्ठले अहिले संकटका बेला उक्त कम्पनीमार्फत ल्याइएको सामग्रीमा २० प्रतिशतभन्दा बढी मूल्य परेकोसमेत स्वीकार गर्नुभयो ।
उक्त कम्पनीसँंग केही दिनअघि मात्र द्रुतगतिमा औषधि ल्याइने सम्झौता भएको थियो । उक्त सम्झौतानुसार गत आइतबार कम्पनीले कोभिड १९ को रोकथाम र नियन्त्रणका लागि औषधिजन्य सामग्री ल्याएको थियो ।
उहाँले उक्त कम्पनीसँंगको सम्झौता रद्द गरेर पुनः बिहीबारदेखि अर्को सम्झौताका लागि प्रक्रिया थालिने जानकारी दिनुभयो । उहाँका अनुसार तीन दिनको बोलपत्र आह्वान निकालेर पाँच दिनभित्र औषधिजन्य सामग्री ल्याउने मन्त्रालयको तयारी छ । “अहिलेलाई हामीसंँग पर्याप्त मात्रामा पुग्ने औषधि रहेको छ”, उहाँले भन्नुभयो, “बिरामीको स्वास्थ्यको उपचार गर्न संलग्न चिकित्सक र स्वास्थ्यकर्मीलाई हामी प्रशस्त औषधिजन्य उपकरण दिन सक्छौँ । रासस