कोरोना भाइरस : सहकारीका सदस्यलाई रकम उपलब्ध गराउन महानगरको आग्रह

ओकेखबर संवाददाता १९ चैत्र २०७६, बुधबार ०८:२९ मा प्रकाशित ( साल अघि) ३२९ पाठक संख्या

काठमाडौं । काठमाडौं महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमणको चुनौती सामनाका लागि जारी ‘लकडाउन’ का अवस्थामा आफ्ना शेयर सदस्यको जीवन निर्वाहका लागि आवश्यक पर्ने रकम उपलब्ध गराउन सहकारीहरुलाई आग्रह गरेको छ । कामपा सहकारी विभागले मातहतका सबै सहकारीलाई पत्राचार गर्दै सहकारी सरकार र आफ्ना सदस्य दुवै पक्षलाई सहयोग होस् भनेर सो परिपत्र गरेको हो ।

 

विभागका प्रमुख देवेन्द्रप्रसाद पोखरेलले सरकारले विभिन्न मितिमा गरेका निर्णय, राष्ट्र बैंकले गरेका परिपत्र र सङ्क्रामक रोग आवश्यक सेवा सञ्चालन ऐन २०१४, सङ्क्रमण रोकथामका लागि महानगरले गरेको व्यवस्थाका आधारमा सहकारीलाई अनुरोध गरेको बताउनुभयो ।

सहकारीमा न्यून तथा मध्यम आय भएका व्यक्तिले थोरैथोरै गर्दै गाँस कटाएर भए पनि केही बचत गरेका हुन्छन् । उनीहरुको यो बचत भोलि आउने अप्ठ्यारोका लागि हो । विभागका उपनिर्देशक सुमन अधिकारी भन्नुहुन्छ, “अहिले शहरी गरिब तथा न्यून र मध्यम आय भएका परिवारलाई जीवन निर्वाह गर्न अप्ठ्यारो परेको छ । उनीहरुलाई खोजेर भए पनि जीवन निर्वाहका लागि सहयोग गर्नुस् ।”

 

उत्पादन र उपभोक्ता सहकारीले उत्पादित वस्तुको सहज वितरण व्यवस्था मिलाउन आग्रह गर्दै पत्रमा आफ्ना सदस्यलाई सम्भव भए मास्क र स्यानिटाइजर उपलब्ध गराउन र प्रयोग गर्न प्रोत्साहन गरिएको छ । हाल कामपामा करिब एक हजार ९०० सहकारी छन् ।


सम्बन्धित खबरहरु