अलपत्र श्रमिकलाई घर फिर्ता गरिने

ओकेखबर संवाददाता १८ चैत्र २०७६, मंगलवार १८:४४ मा प्रकाशित ( साल अघि) ५६८ पाठक संख्या

मेलम्ची । विश्व महामारी कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि सरकारले देशभर लकडाउन गरेपछि विभिन्न जिल्लाबाट सिन्धुपाल्चोकमा मजदुरीका लागि आएका श्रमिकहरुलाई सुरक्षित रुपमा घर फिर्ता गरिने भएको छ ।

 

अन्य जिल्लाबाट सिन्धुपाल्चोकमा मजदुरी गर्न आएका र जिल्लाबाट अन्यत्र गएका श्रमिकहरुलाई स्थानीय सरकारको समन्वयमा पास उपलब्ध गराएर घर फिर्ता गर्ने निर्णय भएको छ । जिल्लामा गठित कोरोना भाइरसको रोकथाम, नियन्त्रण र उपचारका लागि जिल्लामा गठित कमाण्ड फोर्सले यस्तो निर्णय गरेको फोर्सका संयोजक एवम् प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिनुभयो ।

 

अन्य जिल्लाबाट आएका मजदूरहरुलाई स्थानीय तहले १४ दिनसम्म क्वारेन्टाइनमा राख्ने र अन्य जिल्लामा जाने मजदूरहरुका लागि स्थानीय तहले तथ्याङ्क सङ्कलनपछि स्थानीय तहको सिफारिस र प्रहरी प्रतिवेदनका आधारमा सम्बन्धित जिल्लामा फर्काइने प्रजिअ ढकालले जानकारी दिनुभयो ।

 

लकडाउनपछि खाद्यान्न, ग्यासलगायत अति आवश्यक सामग्रीको ढुवानी र वितरणका लागि उद्योग वाणिज्य सङ्घसँग सहकार्य गरेर वितरण गर्ने र त्यसको अनुगमनका लागि समितिसमेत गठन गरिएको छ । सबै स्थानीय तहमा स्थापना गरिने क्वारेन्टाइनको अनुगमन र दैनिक प्रतिवेदनका लागि सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा समिति गठन गरिएको हो । रासस


सम्बन्धित खबरहरु