बलेवा । ठूलै प्रचारबाजीका साथ काठमाडौंबाट आएको चिकित्सकको टोली ५० थान पिपिई, २० थान नमूना संकलन किट, स्यानिटाइजर र मास्क धौलागिरि अञ्चल अस्पताललाई बुझाएर बागलुङबाट फर्किएको छ ।
स्वास्थ्य विभागले पठाएको सामग्री लिएर डा झलक गौतम र जनस्वास्थ्य अधिकृत रामबहादुर नेपाली सोमबार बिहान बागलुङ आइपुग्नुभएको थियो । डा गौतम स्वास्थ्य विभागका बालरोग तथा खोप महाशाखाका प्रमुख र नेपाली वरिष्ठ जनस्वास्थ्य अधिकृत हुनुहुन्छ ।
उहाँहरु आउने खबरले बागलुङमा विदेशबाट आएका संक्रमित युवतीसँगको सम्पर्कमा आएकाहरुको नमूना संकलन हुने आशा जगाएको अञ्चल अस्पताल विकास समितिका सदस्य शालिग्राम शर्माले सुनाउनुभयो । उहाँहरु सामान मात्रै छाडेर हिँडेकाले त्रासमा रहेको बागलुङले राहत महसुस गर्न सकेको छैन ।
उहाँहरुले अस्पताल व्यवस्थापन समितिका अध्यक्ष केबी राना मगरलाई उक्त सामग्री बुझाएर फर्केको अस्पताल व्यवस्थापन समितिका सदस्य शर्माले बताउनुभयो । उहाँहरुसामु अस्पतालका चिकित्सक र व्यवस्थापन समितिका सदस्यले यहाँका समस्या राखेका थिए ।
सङ्घीय सांसद डा सूर्य पाठकले काठमाडौंँबाट बागलुङका लागि १०० थान पिपिई लिएर जनशक्ति हिँडेको बताइए पनि अस्पतालमा भने ५० थान मात्रै ल्याइएको छ र उहाँहरुले आवश्यक परामर्श र कोरोना संक्रमित युवतीको परिवारको स्वाब संकलनमा सहयोग गर्ने पाठकले बताए पनि उहाँहरु सामग्री हस्तान्तरणलगत्तै जिल्लाबाट बाहिरिनुभएको थियो ।
अपुरो भेण्टिलेटर, अस्पतालले लिन मानेन्
प्रादेशिक स्वास्थ्य निर्देशनालयले पठाएका स्वास्थ्य सामग्री बागलुङ आइपुगेका छन् । अञ्चल अस्पतालमा पठाइएका सामग्रीमध्ये भेण्टिलेटर भने अस्पतालले लिन मानेन । भेण्टिलेटरमा पूर्ण सामग्री नरहेको भन्दै अस्पतालले बुझ्न इन्कार गरेको हो ।
‘ब्याट्री, ब्याकअप, मिटरलगायत केही सामग्री अपूर्ण रहेछन्, हामीले अलग्गै राखेका छौंँ’, निमित्त प्रमुख मेडिकल सुपरिटेण्डेण्ट डा. शैलेन्द्र बी पोखरेलले भन्नुभयो ‘शायद सामग्री पूरा होला, अनि त्यसपछि बुझौँला ।’
कोरोनाका बिरामीलाई श्वासप्रश्वासमा जुनसुकै बेला आइपर्ने समस्याका लागि भेण्टिलेटरको आवश्यकता हुन्छ । सघन उपचार कक्ष (आइसियू) नभएकाले भेण्टिलेटरको प्रयोग पूर्ण नभए पनि यसले उपचारमा सघाउने उहाँले बताउनुभयो ।
भेण्टिलेटरका विषयमा अस्पतालले निर्देशनलायलाई जानकारी गराइसकेको छ । निर्देशनालयले पठाएका २५ थान पिपिई, आठ थान भिटिएम, स्वाब संकलन किट, मास्क, स्यानिटाइजरलगायत सामग्री प्राप्त भएको उहाँले बताउनुभयो ।