एजेन्सी । विश्वव्यापी महामारी कोरोना भाइरसको संक्रमणबाट सबैभन्दा बढी प्रभावित भएको इटालीमा ज्यान गुमाउनेको संख्या १० हजार नाघेको छ ।
पछिल्लो २४ घण्टामा थप ८८९ जनाको मृत्यु भएपछि इटालीमा मृत्यु हुनेको कुल आँकडा १० हजार भन्दा माथि गएको हो । अहिलेसम्म कुल १० हजार २३ जनाको इटालीमा कोभिड–१९ का कारण मृत्यु भएको छ ।
इटालीमा संक्रमितको संख्या अमेरिकामा भन्दा कम छ । अहिलेसम्म इटालीमा ९२ हजार ४७२ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै अमेरिकामा संक्रमितको संख्या एक लाख २३ हजार भन्दा बढी पुगेको छ र मृत्यु हुनेको संख्या २२ सय भन्दा बढी छ ।
भाइरसको सुरुवात भएको चीनमा कुल संक्रमितको संख्या ८१ हजार ४३९ तथा मृत्यु हुनेको संख्या ३३ सय पुगेको छ ।
युरोपको स्पेनमा पनि संक्रमणले डरलाग्दो रुप लिएको छ । संक्रमित तथा मृत्यु हुनेको संख्या तीव्र रुपमा बढी रहेको छ । स्पेनमा पाँच हजार ९८२ जनाको ज्यान गइसकेको छ भने कुल संक्रमितको संख्या ७३ हजार २३५ रहेको छ ।
विश्वभर अहिलेसम्म ६ लाख ६२ हजार ७७५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । त्यसमध्ये मृत्यु हुनेको संख्या ३० हजार ८४७ रहेको छ । अहिलेसम्म एक लाख ४१ हजार ९५१ जना निको भएर घर फर्किएका छन् ।