चीनको एक व्यापारिक कम्पनीले ‘डोनेसन’मा दिएका करीव दुई हजार थान कोरोना परिक्षण किट्स लगायतका सामग्री तिब्बतस्थित विदेश विभागको कार्यालयले रोकेको ल्हास्थित नेपाली महावाणिज्य दूतावासले जनाएको छ ।
बेइजिङबाट पठाइएको चार दिनपछि शनिबार ल्हासा पुगेका सामग्री चीनको स्वास्थ्य विभागले जाँच गर्दा निर्यात गर्ने सूचीमा नरहेको भन्दै तिब्बतस्थित विदेश विभागको कार्यालयले रोकेको हो ।
महावाणिज्य दूतावासका प्रवक्ता जिम्सन रुम्दाली राईले शनिबार अपरान्हमात्र विदेश विभागले निर्यात गर्ने लिष्टमा नरहेको भनी जानकारी गराएपछि आफूहरुले ती कार्गो सामग्री जिम्मा नलिएको बताए । अनलाइनखबरसँग कुरा गर्दै राईले ती सामान बेइजिङमै फिर्ता गरिने जानकारी दिए ।
ती सामग्री चीन सरकारले दिएका भने होइनन् । ती सामग्रीको गुणस्तरमा चीन सरकार विश्वस्त हुन नसकेपछि रोकिएको स्रोतले जनाएको छ ।