उत्पादक-वितरकको सहमतिमा नै चीनबाट सामग्री : स्वास्थ्य मन्त्रालय

ओकेखबर संवाददाता १५ चैत्र २०७६, शनिबार १९:०५ मा प्रकाशित ( साल अघि) ३११ पाठक संख्या

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरस (कोभिड–१९) को पहिचान, परीक्षण र उपचार गर्न औषधि, प्रयोगशाला सामग्री र व्यक्तिगत सुरक्षा उपकरण (पिपिई) लगायत सामान उत्पादक-वितरकसँग सामूहिक रुपमा सार्वजनिक संवाद गरी ल्याउन थालेको जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले आज विज्ञप्ति जारी गरी स्वास्थ्य सेवा विभागबाट स्वदेशभित्रैका उत्पादक-वितरकलाई सार्वजनिक सूचना प्रकाशन गरी पटक पटक बोलपत्र आह्वान गर्दासमेत कुनै पनि बोलपत्र पेश नभएकाले विभागले पुन: उत्पादक/वितरकसँग सामूहिक रुपमा सार्वजनिक संवाद गरी छिटोछरितो रुपमा सामग्री ल्याउने गरी सम्झौता गरी उक्त सामग्री चीनबाट ल्याउन लागिएको जानकारी दिनुभयो ।

सामग्री ल्याउनका लागि आज नेपाल वायुसेवा निगमको जहाज चीन गएको छ । राति १ बजे जहाजले सामग्री नेपाल ल्याउने छ । मन्त्रालयका प्रवक्ता डा देवकोटाले सरकारका तर्फबाट यसको रोकथाम, नियन्त्रण, परीक्षण, उपचारलगायत कार्यमा मन्त्रालय शुरुदेखि नै क्रियाशील रहिरहेको उल्लेख गर्दैै सामग्री ल्याउने विषयमा सामाजिक सञ्जाल र केही सञ्चारमाध्यमले भ्रामक, कपोकल्पित र समाजमा नकारात्मक प्रभाव फैलाउने समाचार प्रकाशन गरेको भनी दुःख व्यक्त गरेको छ ।

‘यस्तो विषम परिस्थितिमा प्रचलित कानूनको अधीनमा रही छिटो, छरितो र प्रतिस्पर्धी विधिबाट खरीद गरेको यथार्थलाई लुकाई आफूखुशी समाचार र स्टाटसहरु प्रकाशित/पोष्ट भइरहेको परिप्रेक्ष्यमा दिनरात नभनी अहोरात्र खटिइरहने चिकित्साकर्मीहरुको मनोबल हतोत्साहित हुने र समाजलाई भय सिर्जना हुने हुँदा यस्ता नकारात्मक र भ्रामक प्रचार सामग्री प्रकाशित नगर्न र यथार्थ सामग्रीहरु मात्र प्रचारप्रसार गर्न सबैमा अनुरोध छ’,  विज्ञप्तिमा भनिएको छ ।

उहाँले संसारभरि नै रोकथामका उपाय खोजी भइरहेको हालको अवस्थामा यसमा संलग्न चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीको मनोबल उच्च बनाउन र जनतालाई समेत सुसूचित गराउन सही र सत्य समाचार मात्र प्रकाशन गरिदिन हुन सञ्चारमाध्यमलाई अनुरोध गर्नुभएको छ । रासस


सम्बन्धित खबरहरु