कोभिड–१९ को रोकथाम तथा नियन्त्रणका आइशोलेसनका रुपमा तोकिएका तीनै अस्पतालको समन्वय तथा परिचालनका लागि उक्त बैठकले तीन मन्त्रीको संयोजकत्वको समन्वय तथा परिचालन समिति गठन र रु दुई करोड ५० लाख बजेट उपलब्ध गराउने निर्णय गरेको उहाँले बताउनुभयो ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लासँगको समन्वय र परिचालनका लागि आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीको संयोजकत्वमा सात सदस्यीय समिति गठन भएको र उक्त प्रतिष्ठानका लागि रु एक करोड बजेट उपलब्ध गर्ने निर्णय भएको उहाँले जनाउनुभयो ।
त्यसैगरी, रु एक करोड उपलब्ध गर्नेगरी कर्णाली प्रदेश अस्पताल सुर्खेतको समन्वय तथा परिचालनका लागि सामाजिक विकासमन्त्री दल रावल संयोजकत्वको सात सदस्यीय समिति र रु ५० लाख बजेट उपलब्ध गर्नेगरी चौरजहारी सामुदायिक अस्पताल रुकुमपश्चिमको समन्वय तथा परिचालनका लागि भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री केसी संयोजकत्वको सात सदस्यीय समिति गठन गर्ने निर्णय उक्त बैठकले गरेको जनाइएको छ ।