उनीहरुलाई मंगलबार राति ना ५ ख ९५५२ नम्बरको खाली लरीमा चढी आएको बेला पक्राउ गरिएको प्रहरीले जनाएको छ । ५२ जना यात्रुसहित लरीका चालकलाई पनि प्रहरीले पक्राउ गरेको छ ।
लरीमा चढेर आएका उनीहरु पर्सा, बारा र रौतहटका बासिन्दा हुन् । भरतपुर, काठमाडौँ र हेटौँडा लगायतका शहरहरुमा उनीहरु मजदूरी गर्दै आएका थिए । देशभरी लकडाउन भएपछि ती मजदूरहरु घर फर्किरहेका थिए । उनीहरु प्रतिव्यक्ति दुई सयका दरले भाडा दिने सहमतिमा लरीमा चढेको बताइएको छ।
पक्राउ परेका बारा मोतिसरका रमेश बेठाले काम बन्द भएपछि साहुले घर जान भनेका कारण घर फर्किन लरीमा चढेर आएको बताए । पक्राउ परेका सबैलाई स्वास्थ्य परीक्षणको लागि शंकराचार्य गेटस्थित क्वारेन्टाईनमा पठाइएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जानकारी दिए ।
पक्राउ परेका लरीका चालकलाई भने स्वास्थ्य जाँच पश्चात प्रहरी थुनामा राखेर संक्रामक रोग ऐन २०२० र स्थानीय प्रशासन ऐन २०२८ अनुसार मुद्दा चलाइने प्रहरीले जनाएको छ ।