कोरोनाको सन्त्रास : झन् असुरक्षित बन्दै गाउँघर

ओकेखबर संवाददाता १२ चैत्र २०७६, बुधबार १०:३५ मा प्रकाशित ( साल अघि) ७९१ पाठक संख्या

विश्वभरि महामारीको रुप लिएको ‘कोभिड –१९’ ले शहरबाजार सुनसान छन् भने गाउँघरमा चहलपहल बढ्दै गएको छ । शहरदेखि भारत वा तेस्रा मुलुकबाट गाउँमा मानिस फर्किएपछि शहर सुनसान र गाउँतिर चहलपहल बढेको हो ।

 

विदेशबाट फर्किएकालाई स्वास्थ्य चेकजाँच गरि १४ दिनसम्म क्वारेन्टाइनमा राख्ने व्यवस्थाले शहर सुरक्षित छ भने गाउँघरमा ‘हेल्थ डेस्क’ वा क्वारेन्टाइन नहुँदा जोखिम बढदै गएको स्थानीयवासीको भनाइ छ ।
जिल्लाका ११ स्थानीयतहमध्ये आठविस नगरपालिका, नौमुले गाउँपालिका र गुराँस गाउँपालिका, भवतीमाई गाउँपालिका र दुल्लू नगरपालिकामा आइसोलेशन शैय्या तयार पारिएको छ भने अन्य गाउँपालिकामा न त क्वारेन्टाइन शैय्या तयार पारिएको छ, न त आइसोलेशन शैय्या नै ।

ती गाउँपालिका र नगरपालिकामा आइसोलेशन शैय्या र क्वारेन्टाइन नहुँदा विदेशबाट फर्किएका मानिस निर्धक्कसाथ गाउँघरमा जाने गरेका छन् । स्वास्थ्य जाँच नै नगरी गाउँघरमा जानाले कोरोना भाइरसको सङ्क्रमण फैलिने त्रास बढेको ठाटीकाँध– १ का नामबहादुर शाहीले बताउनुभयो । “गाउँपालिकाले ‘हेल्थ डेस्क’ आइसोलेशन शैय्या र क्वारेन्टाइन नबनाउँदा भारत वा तेस्रो मुलुकबाट गाउँ फर्किएका मानिस निर्धक्क घर आएका छन, यसले जनतामा त्रास फैलाएको छ । क्वारेन्टाइन बनाउन गाउँपालिका उदासिन बनेको छ”, उहाँले आरोप लगाउनुभयो ।

उहाँले भन्नुभयो, “गाउँमा भारतबाट फर्किनेको लर्को लागेर आएका छन् । स्वास्थ्य केन्द्रमा डाक्टर छैनन् । गाउँपालिकाले कोरोना बारे जनचेतना जगाउने काम गरेको छैन । सूचना जारी मात्र गरेको छ । यसले जोखिम बढाएको छ ।”

त्यसैगरि कोभिड– १९ सङ्क्रमणबाट बच्नका लागि चामुण्डा विन्द्रासैनी नगरपालिकाले घरदैलो अभियान गरि स्थानीयवासीमा जनचेतना फैलाउने काम गरेको छ भने भने कर्णाली राजमार्गस्थित साँगेतडा बजार र मध्यपहाडी राजमार्गको पादुकामा ‘हेल्थ डेस्क’ स्थापना गर्ने नगरप्रमुख सूर्यबहादुर शाहीले जानकारी दिनुभयो ।

सङ्क्रमणलाई फैलिन नदिनका लागि तेस्रो मुलुक वा भारतबाट घर फर्किएकालाई १४ दिनसम्म क्वारेन्टाइन राख्ने निर्णय गरेको भैरवी गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर बुढाले बताउनुभयो । सोमबार बसेको विपद् व्यवस्थापन समितिको वैठककले सो निर्णय गरेको हो ।

जिल्ला विपद् व्यवस्थापन समितिले भारत वा तेस्रो मुलुकबाट घर फर्केका लागि नारायण क्याम्पसमा १०० शैय्याको क्वारेन्टाइन बनाउने निर्णय गरेको छ । विदेशबाट वा तेस्रो मुलुकबाट फर्किएकालाई १४ दिनसम्म क्वारेन्टाइनमा राखेर स्वास्थ्य चेक जाँच राम्रो देखिए मात्र घर पठाउने नगरप्रमुख घनश्याम भण्डारीले बताउनुभयो । रासस


सम्बन्धित खबरहरु