पहिलोपटक नेपालमा अन्तर्राष्ट्रिय उडान प्रतिबन्ध

ओकेखबर संवाददाता १० चैत्र २०७६, सोमबार ०८:०४ मा प्रकाशित ( साल अघि) ५०१ पाठक संख्या

काठमाडौं । कोरोना भाइसरको सन्त्रास नेपालमा पनि बढेसंगै शुक्रबार प्रधानमन्त्री ओलीले १० गते देखी २१ गतेसम्मका लागि अत्यावश्यक बाहेकका सबै कामलाई ठप्प पार्न निर्देशन दिएका थिए । त्यसक्रममा अन्तर्राष्ट्रिय उडानमा पनि सोमबारदेखी प्रतिबन्ध लगाईयो ।
नेपाली हवाई उड्डयनको ६१ वर्षे इतिहासमा पहिलोपटक सोमबारदेखि अन्तर्राष्ट्रिय उडानमा रोक लगाइएको हो । कोरोना भाइरसको संक्रमणबाट जोगिन सरकारले आइतबार राति १२ बजेदेखि १८ चैतसम्म अन्तर्राष्ट्रिय उडान–अवतरणमा रोक लगाएको हो ।

नेपालले ०१५ सालदेखि अन्तर्राष्ट्रिय उडान थालेको हो । भूकम्प र ठुल्ठूला आन्दोलनका वेलासमेत अन्तर्राष्ट्रिय उडानमा रोक लागेको इतिहास छैन । सरकारको निर्णयले विभिन्न कामको सिलसिलामा नेपालमा रहेका १० हजार विदेशी नागरिक पनि स्वदेश फर्कन पाउने छैनन् । विदेशमा रहेको लाखौँ नेपाली पनि स्वदेश फर्कन पाउने छैनन् ।

सरकारको निर्देशनपछि एयरलाइन्स कम्पनीहरूले हवाई भाडाको अधिकतम मूल्य ३६ प्रतिशतसम्म घटाएका छन् । आन्तरिक उडानका तीन ठूला एयरलाइन्स कम्पनीले सबै क्षेत्रको अधिकतम भाडादर घटाएर सार्वजनिक गरेका छन् ।

कोरोना भाइरस सन्त्रासका कारण काठमाडौंबाट बाहिरिने यात्रुको संख्या ह्वात्तै बढेपछि एयलाइन्स कम्पनीहरूले सरकारले तोकेको अधिकतम भाडा लिन थालेका थिए । तर, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले शनिबार तत्कालका लागि अधिकतमको सीमा घटाएर भाडा तोक्न निर्देशन दिएका थिए । एयरलाइन्स कम्पनीहरूले आइतबार नयाँ भाडादर तोकेका हुन् ।


सम्बन्धित खबरहरु