“विशु पर्वका लागि पनि भारतबाट धेरै नागरिक आउने सुदूरपश्चिमको प्रमुख नाका गड्डाचौकी हो”, नगरप्रमुख विष्टले राससलाई भन्नुभयो, “कोरोना भाइरस जोखिम न्यूनीकरणका लागि हामीले प्रशासनमार्फत सङ्घ सरकारसित पनि आग्रह गरेका थियौँ ।” उहाँले गड्डाचौकी नाकामा यात्रुहरुका लागि थालिएको स्वास्थ्य परीक्षण थप प्रभावकारी बनाइने जानकारी दिनुभयो ।
चैत ११ गते बिहान ७ बजेदेखि पूर्णरूपमा बन्द गर्ने निर्णय भइसकेको बताउँदै उहाँले जिल्लाका अन्य नाका यसअघि नै बन्द गरिएको जानकारी दिनुभयो । त्यसैगरी प्रशासनले आज राति १२ बजेपछि लागू हुने गरी नगरपालिकाका दैनिक उपभोग्यका पसल, राहत उद्धारबाहेक यातायात, सम्पूर्ण बजार, पसल, व्यवसाय, उद्योग र कलकारखाना बन्द गर्ने निर्णय गरेको छ ।
“सीमा क्षेत्रमा रहेका सबै मदिरा पसल पनि आजबाट बन्द गर्ने निर्णय भएको छ”, विष्टले भन्नुभयो, “सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा अफवाह फैलाउने जोकोहीमाथि पनि कारवाही गरिनेछ ।” प्रशासनले आकस्मिक कामबाहेक घर बाहिर ननिस्कन आग्रह गर्दै विनाकारण सूचनालाई वेवास्ता गरी बाहिर निस्किए कारवाही हुने जनाएको छ ।
त्यसका साथै गड्डाचौकी नाकाबाट स्वदेश फर्किरहेका मानिसको अद्यावधिक गर्न जिल्ला प्रशासनले आवश्यक कर्मचारी खटाएको छ । स्वास्थ्य परीक्षण प्रभावकारी बनाउन यात्रुहरुको विवरण सङ्कलन गर्न लागिएको हो ।
त्यसैगरी कञ्चनपुरको वेदकोट नगरपालिकामा कोरोना आइशोलेसन केन्द्र स्थापना गरेको छ । आज नगरपालिकाका नगरप्रमुख अशोककुमार चन्दले आइशोलेसन केन्द्रको उद्घाटन गर्नुभएको छ । “कोरोना भाइरसको रोकथाममा महत्वपूर्ण भूमिका खेल्ने विश्वासका साथ आइशोलेसन केन्द्र स्थापना गरेका हौँ”, नगरप्रमुख चन्दले भन्नुभयो । त्यसका साथै कोरोनासम्बन्धी जनचेतना फैलाउन विभिन्न समिति गठन गरेर घरदैलोमा जाने निर्णय नगरपालिकाले गरेको छ ।