सोमबारदेखि एक सातासम्‍म सबै सीमा नाकामा यात्रु आवागमन ठप्प

ओकेखबर संवाददाता ९ चैत्र २०७६, आईतवार २१:२६ मा प्रकाशित ( साल अघि) ३१६ पाठक संख्या

काठमाडौं । विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरसको सङ्क्रमणको रोकथाम र जोखिम न्यूनीकरणका लागि भारत र चीनतर्फका सबै सीमा नाका एक सातासम्म यात्रु आवागमन बन्द गर्ने भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आइतवार बसेको मन्त्रिपरिषद्को बैठकले सोमबार विहान १० बजेबाट एक साताका लागि नाकामा यात्रु आवागमन बन्द गर्ने निर्णय गरेको हो ।

मन्त्रिपरिषद् बैठकले एक साताका लागि सबै सीमा नाका बन्द गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं अर्थमन्त्री डा. युवराज खतिवडाले बताए। उनका अनुसार नाकाबाट ढुवानीलगायत सामान आयात भने निरन्तर रहनेछ।

भारतबाट हुलका हुल नेपाली घर फर्किन थालेपछि कोरोना भाइरसको जोखिम बढेको भन्दै सरकारको आलोचना भएको थियो। आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा झन्डै चार घण्टा बसेको मन्त्रिपरिषद् बैठकले नाका बन्दको निर्णय गरेको हो।

त्यसो त भारतमा कोरोनाको संक्रमण देखिएपछि नेपालले सीमा नाका बन्द गर्ने प्रस्ताव राखेको थियो । तर भारतले ठोस जवाफ नदिँदा निर्णय हुन सकेको थिएन । यही बेला रोजगारी तथा अध्ययनका लागि भारत गएका हजारौं नेपाली फर्किएका कारण संक्रमण फैलिने जोखिम बढेपछि सिमा नाकामा यात्रु आवागमन बन्द गर्ने भएको हो ।

सामान्यत मन्त्रिपरिषद्का निर्णय हरेक बिहीबार सार्वजनिक हुँदै आएकामा जरुरी महत्वका विषय भएकाले आजै सार्वजनिक गरिने भएको छ ।
गत फागुन २१ गते प्रधानमन्त्रीको दोस्रो पटकको मिर्गौला प्रत्यारोपणपछि पहिलो पटक मन्त्रिपरिषद्को बैठक बसेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो ।

प्रधानमन्त्री ओलीले गत शुक्रबार राष्ट्रका नाममा सम्बोधन गरी कोभिड १९ को जोखिमबाट बच्न आव्हान गर्दै हवाई र स्थलमार्गबाट अपनाउनुपर्ने सावधानी, जोखिमयुक्त स्थानबाट आवागमन रोकका साथै आजदेखि यही चैत २१ गतेसम्म अत्यावश्यकबाहेकका सेवा बन्दको घोषणा गर्नुभएको थियो ।


सम्बन्धित खबरहरु