उत्तरी नाका भन्दा दक्षिणी नाकाबाट सङ्क्रमण भित्रिन सक्ने खतरा !

ओकेखबर संवाददाता ६ चैत्र २०७६, बिहीबार २१:१३ मा प्रकाशित ( साल अघि) २४६ पाठक संख्या

काठमाडौं । नोवेल कोरोनाभाइरसको सङ्क्रमण भित्रिन नदिन सरकारले मुलुकका दक्षिणी नाकामा थप कडाई गर्ने भएको छ । उत्तरी नाका भन्दा दक्षिणी नाकाबाट सङ्क्रमण भित्रिन सक्ने खतरा रहेको औँल्याउँदै सरकारले थप कडाइ गर्न थालेको छ ।

सिंहदरबारमा आज भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको बैठकमा गृहमन्त्री रामबहादुर थापाले सरकारले ‘कोभिड–१९’ विरुद्ध लड्न आवश्यक पूर्व तयारी गरिरहेको जानकारी दिँदै त्यसलाई अझै कडाइका साथ कार्यान्वयन गरिने बताउनुभयो ।

गृहमन्त्री थापाले भन्नुभयो, “अहिलेसम्म मुलुकमा त्यस्तो समस्या छैन, तर विपद् आयो भने कसरी सामना गर्ने भन्ने विषयमा सरकारले कानूनी र संरचनागत व्यवस्था गरिसकेको छ, तीनै तहमा सम्बन्धित कानून र नीति निर्माण गरेर तयारीको काम जारी छ, यसमा अझै कडाईका साथ लाग्नुपर्छ ।”

‘मुलुकमा कोरोनाको वस्तुस्थिति, पूर्व तयारी र प्रतिकार्य योजना’को सम्बन्धमा आयोजित उक्त बैठकमा गृहमन्त्री थापाले अहिलेको विशिष्ट परिस्थितिमा ‘कोभिड–१९’ को आक्रमणले संसार भर त्रास फैलिएकाले नेपालमा हुने सम्भावित जोखिमको विश्लेषण गरेर त्यसको व्यवस्थापनमा सरकारले ध्यान दिएको बताउनुभयो । उहाँले योजना निर्माण गरी कार्यान्वयनका लागि मुख्यसचिव लोकदर्शन रेग्मीको संयोजकत्वमा एक्सन कमिटी बनाएर काम थालिएको बताउनुभयो ।

पूर्वतयारीको सम्बन्धमा सरकारको उच्चस्तरीय समन्वय समितिले विशेष व्यवस्था गरीे काम अघि बढाएको र अवाश्यक सावधानी अपनाउन सार्वजनिक अपिल गरिएको मन्त्री थापाले बैठकमा जानकारी गराउनुभयो । विश्व स्वास्थ्य सङ्गठन९डब्लुएचओ०को अभिलेख अनुसार विशवका १६६ मुलुकमा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । नौ हजारको ज्यान गइसकेको छ । दुई लाख प्रभावित भएका छ्न । कतिपय मुलुकले सङ्कटकाल नै घोषणा गरेर नियन्त्रणको काम गर्दै आएको छ ।

बैठकमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले सरकारको निर्णयलाई प्रभावकारी कार्यान्वयनमा आजको बैठक केन्द्रित भएको जानकारी दिनुभयो । “अहिलेको अवस्थामा उत्तरी नाका भन्दा पनि दक्षिण सिमानाबाट सङ्क्रमणको बढी जोखिम छ, त्यसतर्फ सरकारले कडाइ गर्न लागेको छ”, पोखरेलले भन्नुभयो ।

उहाँले अनर्गल प्रचार गर्दा जनमानसमा त्रास पैदा भएको जिकिर गर्दै यस्ता गलत प्रचार गर्नेलाई एक लाखसम्म जरिवाना र ६ महिनासम्मको कैदको व्यवस्था रहेकाले त्यसको कार्वान्वयन गरिने बताउनुभयो । “कोभिड विरुद्ध विश्वकै लडाइँ हो, सबैको साझा प्रयासले मात्रै रोकथाम सम्भव छ, सबै लागौँ”, पोखरेलले भन्नुभयो ।


सम्बन्धित खबरहरु