कोरोनाबाट आक्रान्त युरोप, इटालीमा मृतकको संख्या २ हजार ५ सय नाघ्यो

ओकेखबर संवाददाता ५ चैत्र २०७६, बुधबार ०९:२४ मा प्रकाशित ( साल अघि) ३७२ पाठक संख्या

एजेन्सी । गत डिसेम्बरमा चीनको वुहानबाट सुरु भएको कोभिड–१९ अहिले विश्वका १६० भन्दा बढी देशमा फैलिइसकेको छ । यस महामारी चीनमा नियन्त्रणोन्मुख भइरहँदा युरोप र अमेरिकामा भने फैलिइरहेको छ ।

बुधबार बिहानसम्म कोभिड–१९ को संक्रमणबाट ७ हजार ९ सय ६५ जनाको मृत्यु भइसकेको छ भने करिब २ लाख संक्रमित भएका छन् । संक्रमितमध्ये करिब ८० हजार भने निको भएको विश्व स्वास्थ्य संगठनले जनाएको छ । निको हुनेहरुमा चिनियाँ नै धेरै रहेका छन् ।

पछिल्लो २४ घण्टामा चीनमा थप ११ जनाको मृत्यु भएको छ भने थप १३ जनामा संक्रमण देखिएको छ । बुधबार बिहानसम्म चीनमा ३ हजार २ सय ३७ को मृत्यु भएको छ भने ८० हजार ८ सय ९४ संक्रमित भएका छन् । चीनमा निको हुनेको संख्या करिब ६८ हजार रहेको छ ।

युरोपेली मुलुक इटालीमा भने दिनप्रतिदिन संक्रमण फैलिइरहेको छ । पछिल्लो २४ घण्टामा मात्रै ३४५ जनाको मृत्यु भएको छ भने थप ३ हजार ५ सय २६ मा संक्रमण देखिएको छ । बुधबार बिहानसम्म इटालीमा कोभिड–१९ को संक्रमणबाट मृत्यु हुनेको संख्या २ हजार ५ सय ३ पुगेको छ । त्यस्तै इटालीमा संक्रमितको संख्या ३१ हजार नाघेको छ । इटालीमा निको हुनेको संख्या भने करिब ३ हजार रहेको छ ।

त्यस्तै मंगलबार इटालीपछि स्पेनमा सबैभन्दा बढी १९१ जनाको मृत्यु भएको छ । त्यस्तै थप एक हजार ८ सय ८४ मा संक्रमण देखिएको छ । बुधबार बिहानसम्म स्पेनमा मृतकको संख्या ५३३ पुगेको छ भने संक्रमितको संख्या ११ हजार ८ सयभन्दा बढी रहेको छ ।

बुधबार इरानमा पनि थप १३५ जनाको मृत्यु भएको छ भने थप एक हजार ७ सय ७८ जनामा संक्रमण देखिएको छ । इरानमा बुधबार बिहानसम्म ९८८ जनाको मृत्यु भएको छ भने संक्रमितको संख्या १६ हजार नाघेको छ ।

त्यस्तै अमेरिकामा बुधबार बिहानसम्म मृतकको संख्या १०९ पुगेको छ । संक्रमितको संख्या ६ हजार ४ सय ६८ पुगेको छ । अमेरिकामा मंगलबार मात्रै थप २३ जनाको मृत्यु भएको छ भने थप एक हजार ८ सय ५ जनामा संक्रमण देखिएको छ ।


सम्बन्धित खबरहरु