पनौतीको कर्फ्यु हट्यो, शव परीक्षण गर्न सहमति

ओकेखबर संवाददाता ४ चैत्र २०७६, मंगलवार २२:४६ मा प्रकाशित ( साल अघि) २७४ पाठक संख्या

बनेपा । टिप्पर चलाउने चालकलाई कडा कार्वाही गर्नुपर्ने मागसहित पीडित पक्षले शवपरीक्षण गर्न सहमति जनाएपछि टिप्परको ठक्करबाट मृत्यु भएको आमाछोरीको शवपरीक्षण गरिएको छ । काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–५ पनौती बसपार्कमा सोमबार अपराह्न टिप्परले ठक्कर दिएर पैदलयात्री आमाछोरीको मृत्यु भएको थियो ।

 

बनेपाबाट पनौतीतर्फ गएको टिप्परले किचेको छोरी स्मारिका भ्लोनलाई बचाउन खोज्दा आमाको पनि मृत्यु भएकोमा चालक रोशी गाउँपालिका–२ का ३६ वर्षीय नवराज थापालाई पक्रेर कानून बमोजिम हदैसम्मको कार्वाही र मृतकको हकदारले कानूनबमोजिम पाउनुपर्ने क्रिया खर्च, क्षतिपूर्तिसमेत दिलाउन पीडितले जाहेरी दिएपछि शवपरीक्षणको प्रक्रिया अगाडि बढेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरीक्षक योगेन्द्र तिमिल्सिनाले पीडित पक्षले दिएको जाहेरीका आधारमा शवपरीक्षणको प्रक्रिया र पीडकलाई कार्वाहीको प्रक्रिया अगाडि बढाएको बताउनुभयो ।

 

बा ५ ख ५४८० नंको टिप्परले पनौती नगरपालिका–५ बसपार्कमा ठक्कर दिई घाइते भएका खानीखोला गाउँपालिका–१ बस्ने २७ वर्षीया जुनिमाया गोले र उहाँका तीन वर्षीया छोरी स्मारिका भ्लोनको बनेपास्थित शिर मेमोरियल अस्पतालमा उपचारका क्रममा सोमबार निधन भएको हो । खानीखोला गाउँपालिका–१ स्थित कालीदेवी प्राथमिक विद्यालय हात्तीडाँडाको प्रधानाध्यापकसमेत रहनुभएका जुनीमाया गोले आमाछोरी नै बिरामी भएर केही दिनअगाडि मात्रै उपचारका लागि पनौती आएको उहाँका बुबा जगतबहादुर गोलेले बताउनुभयो । सोमबार गाउँ फर्कनका लागि आउने क्रममा सो घटना भएको जनाएको छ ।

 

सोही घटनालाई लिएर आज बिहान ९ बजेदेखि लगाएको कफ्र्यू भने परिस्थिति सहज नभएको भन्दै जारी राखिएको प्रशासनले जनाएको छ । शवपरीक्षण कार्य सकिए पनि मृतकका श्रीमान् छिरिङ भ्लोन वैदेशिक रोजगारको सिलसिलमा मलेसियामा रहेकाले उहाँ आएपछि मात्रै शव बुझ्ने पीडित पक्षले जनाएको छ ।


सम्बन्धित खबरहरु