टुङगो लागेन प्रदेश नं २ को नामकरण, चारवटै प्रस्ताव फेल

ओकेखबर संवाददाता ४ चैत्र २०७६, मंगलवार २२:०३ मा प्रकाशित ( साल अघि) ३०२ पाठक संख्या

धनुषा । प्रदेश नं २ को नामकरणको लागि प्रदेशसभामा आज भएको मतदान प्रक्रियामा कुनै पनि नाम स्वीकृत हुन सकेन । प्रदेश २ को नामकरणको लागि दर्ता भएको जानकी, मिथिला भोजपुरा, मध्यमधेस र मधेस प्रदेश गरी चार वटै प्रस्ताव अस्वीकृत भएको हो ।

नामकरणका लागि प्रदेशसभामा आज दिनभर भएको मतदानमा पनि कुनै टुङ्गो नलागेपछि प्रदेश नं २ को नामकरण थप अन्योलमा परेको छ । नेकपाले प्रस्ताव गरेको जानकी, नेपाली काँग्रेसले प्रस्ताव गरेको मिथिला भोजपुरा, काँग्रेसका सांसद राजेश्वरप्रसाद साहले प्रस्ताव गर्नुभएको गरेकोमा छुट्टाछुट्टै मतदान भए पनि कुनै प्रस्तावमा दुई तिहाइ मत पुग्न नसकेपछि चार वटै प्रस्ताव फेल भएको हो ।

कूल १०७ सांसद रहेको प्रदेश २ मा दुई तिहाइ बहुमतका लागि ७२ मत आवश्यक पर्छ तर कुनै पनि प्रस्तावको पक्षमा दुईतिहाइ पुग्न सकेन । सत्तारुढ दलले प्रदेश नं २ लाई ‘मधेश प्रदेश’ नामाकरण गर्ने प्रस्तावको पक्षमा ६० मत खसेको छ । विपक्षमा ४६ मत परेको छ भने १ मत बदर भएको छ ।

मधेस प्रदेशका लागि सत्तारुढ राजपा र समाजवादीका ५५ र अर्को नेपाल समाजवादी पार्टीका एक जना सांसदले पक्षमा मत खसालेका थिए भने ४ मत काँग्रेस र नेकपाका सांसदले खसालेका थिए । एक मत बदर भएको थियो भने ४६ मत विपक्षमा खसेको थियो ।
यसअघि नेकपाको प्रस्तावित नाम जानकीमा ३७ मत मात्र प्राप्त भएपछि सो प्रस्ताव पनि खारेज भएको थियो । काँग्रेसको मिथिला भोजपुरा नामको पक्षमा मात्र २८ मत खसेपछि अस्वीकृत भएको थियो । त्यसैगरी प्रदेश २ को नामकरणको लागि नेपाली काँग्रेसका सांसद राजेश्वरप्रसाद यादवले बागी भएर प्रस्ताव गरेको मध्य–मधेश नामको प्रस्ताव पनि खारेज भएको थियो । मध्य–मधेश नाम राख्नुपर्ने प्रस्तावको पक्षमा ४२ मत खसेको थियो । चारवटै प्रस्ताव फेल भएकाले अब फेरि शुरुदेखि नै प्रक्रियामा जानुपर्ने भएको छ । त्यसको लागि दलहरुले पुनः प्रस्ताव दर्ता गराउनुपर्ने हुन्छ ।


सम्बन्धित खबरहरु