ऐतिहासिक भीमसेन मन्दिरका चार छत्री चोरी

ओकेखबर संवाददाता ३ चैत्र २०७६, सोमबार ०७:३० मा प्रकाशित ( साल अघि) २६२ पाठक संख्या

डोटी । जिल्ला सदरमुकाम सिलगढीमा अवस्थित ऐतिहासिक भीमसेन मन्दिरको चार चाँदीका छत्री चोरी भएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक दिलीपसिंह देउवाले दिपायल सिलगढी नगरपालिका–६ मा रहेको उक्त मन्दिरको ढोका फुटाइ अमूल्य वस्तु चोरी भएको जानकारी दिनुभयो ।

उहाँका अनुसार उक्त मन्दिरबाट ५० तोलाको एक वटा र १० तोला बराबरका तीन गरी ८० तोलाका लाखौँ मूल्य बराबरका छत्री चोरी भएका छन् । भक्तजनले मन्दिरमा चढाएका छत्री चोरी भएको स्थानीय गोविन्द श्रेष्ठले बताउनुभयो ।

उहाँले भन्नुभयो, “भक्तजनले चढाएका छत्री चोरी भएका छन्, मन्दिरका बारेमा थाहा पाएको व्यक्तिले चोरी गरेको हुनसक्छ ।” फलामको रड प्रयोग गरी मन्दिरको मूल ढोका र मन्दिरसँगैको सभा हलको ताला चोरी गरेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।

 

घटनाबारे आवश्यक अनुसन्धान तथा सोधपुछ भइरहेको प्रहरी निरीक्षक कर्णबहादुर बोहराले जानकारी दिनुभयो । मन्दिरमा कतिबेला भयो भन्ने यकिन खबर नभए पनि गतशनिबार राति चोरी भएको हुनसक्ने प्रहरीले प्रारम्भिक अनुमान गरेको छ ।

 

यसैबीच भालुको आक्रमणमा परी दिपायल सिलगढी नगरपालिका–९ कलेनास्थित खेतकाट्टेकी ७५ वर्षीया धनीदेवी साउँद गम्भीर घाइते हुनभएको छ । आइतबार घर नजिकैको खेतमा काम गरिरहेको बेला उहाँलाई भालुले आक्रमण गरी गम्भीर घाइते बनाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कर्णबहादुर बोहराले जानकारी दिनुभयो ।

 

आक्रमणबाट साउँदको हात, खुट्टा र टाउकोमा गम्भीर चोट लागेको र जिल्ला अस्पताल उपचार सम्भव नभएपछि थप उपचारका लागि कैलाली रिफर गरिएको जिल्ला अस्पतालका डा ज्योति पाण्डेले बताउनुभयो ।


सम्बन्धित खबरहरु