बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले कोरोना नियन्त्रणका लागि राष्ट्रिय प्रयासमा भाग लिन स्वास्थ्य लगायत सबै क्षेत्रसँग आग्रह गर्नुभएको छ ।
यसैबीच अमेरिकाले बेलायत र आयरल्याण्डलाई पनि यात्रामा प्रतिबन्ध लगाएको छ । अमेरिकाले यसअघि बेलायत बाहेक युरोपका सबै देशमाथि यात्रामा प्रतिबन्ध लगाएको थियो ।
युरोपेली सङ्घका दुई ठूला देश फ्रान्स र स्पेनले पनि कोरोनाको प्रकोप सामना गर्न इटालीको जस्तै आपतकालिन प्रतिबन्ध लगाएका छन् । इटालीले देशभर यात्रामा प्रतिबन्ध लगाउँदै खाद्यान्न र औषधि पसल बाहेकका सबै व्यवसाय बन्द गरिसकेको छ ।
न्युजिल्याण्डले पनि यात्रामा कडाइ गर्दै देश भित्रिएकालाई क्वारेण्टाइनमा बस्न भनेको छ । युरोपका इटाली, स्पेन, जर्मनी, फ्रान्स, स्विजरल्याण्ड, नर्वे लगायतका देशमा सङ्क्रमण र ज्यान जानेको संख्या बढीरहेको छ ।
चीनको वुहानबाट सुरु भएको कोरोना भाइरस अहिलेसम्म विश्वका १५१ देशमा फैलिसकेको छ । अहिलेसम्म १ लाख ५६ हजार ४५६ जनामा कोरोनाको सङ्क्रमण भएको पुष्टि भएको छ भने सङ्क्रमित ७४ हजार ४ सय ६० जना उपचारपछि घर फर्किएका छन् ।
कोरानाको कारण विश्वभर ५ हजार ८ सय २१ जनाको ज्यान गइसकेको छ । बीबीसी