प्रधानमन्त्री ओलीलाई संक्रमणको आशंका !

ओकेखबर संवाददाता २९ फाल्गुन २०७६, बिहीबार ०८:०४ मा प्रकाशित ( साल अघि) ५३७ पाठक संख्या

काठमाडौं । त्रिवि शिक्षण अस्पतालमा उपचारारत प्रधानमन्त्री केपी शर्मा ओलीको पिसाबमा संक्रमण भएको आशंका गरिएको छ ।
प्रधानमन्त्रीका निजी चिकित्सक प्रा.डा. दिव्यासिंह शाहले ओलीलाई हाल संक्रमण हुने जोखिम उच्च रहेको बताइन् । उनका अनुसार बिहीबार परीक्षणको रिपोर्ट आएपछि मात्र थप केही भन्न सकिन्छ ।

उपचारमा संलग्न चिकित्सक टोलीलाई ‘क्लेबसेला ब्याक्टेरिया’ को संक्रमण भएको शंका लागेसँगै पिसाबको कल्चर गर्न पठाइएको छ ।
कल्चरको रिपोर्ट आउन कम्तीमा ४८ घण्टा लाग्ने भएकाले त्यो हेरेपछि मात्र डिस्चार्जबारे निर्णय लिन सकिने चिकित्सकहरूले बताएका छन् ।

चिकित्सकका अनुसार प्रधानमन्त्री ओलीलाई पहिला पनि ‘क्लेबसेला ब्याक्टेरिया’ को संक्रमण देखिएकाले अहिले शरीरको रोग प्रतिरोधात्मक क्षमता कम भएका बेला त्यो फेरि फर्किने सम्भावना प्रबल रहन्छ । उनलाई त्यसबेला ‘पिपेरासिलिन–ट्याजोब्याक्टम’ नामक एन्टिबायोटिक प्रयोग गरिएको थियो ।

प्रधानमन्त्री ओलीमा ‘क्लेबसेला’ को संक्रमण रहेको रिपोर्ट आए उनको अस्पताल बसाइ थप केही दिन लम्बिन सक्छ । चिकित्सकका अनुसार रोग प्रतिरोधात्मक क्षमता कम भएका बिरामीलाई यो ब्याक्टेरियाको संक्रमण हुने सम्भावना उच्च रहन्छ । त्यसमा पनि मिर्गौला प्रत्यारोपण गरिएका बिरामीमा यस प्रकारको पिसाबको संक्रमण देखिने दर उच्च रहेको छ । सुरुमा चिकित्सकहरूले मिर्गौला प्रत्यारोपणको पाँचदेखि सात दिनभित्र डिस्चार्ज गर्ने बताए पनि ओलीलाई बुधबारसम्म ‘लिभर आईसीयू’ मै राखिएको छ ।

डा. शाहका अनुसार प्रधानमन्त्रीलाई संक्रमण नहोस् भनेरै बालुवाटारमा उनी बस्ने कोठालगायत अन्य स्थानको ‘फ्युमिगेट’ (संक्रमणका स्रोत हुन सक्ने सम्भावित स्थान पहिचान गरी त्यसलाई निर्मलीकरण गरिने पद्धति) पछि मात्र डिस्चार्ज गरिनेछ ।


सम्बन्धित खबरहरु