पूर्वमन्त्री बास्कोटाको घरमा विष्फोटबारे बोल्यो ‘विप्लव’: ‘यी १० कारणले बम हान्यौं’

ओकेखबर संवाददाता २८ फाल्गुन २०७६, बुधबार १२:२२ मा प्रकाशित ( साल अघि) ४६५ पाठक संख्या

काठमाडौं । भक्तपुरको लोकन्थली मनोहरा फाँटस्थित पूर्वसञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाको नवनिर्मित घरमा शक्तिशाली बम विस्फोट भएकोको जिम्मा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले लिएको छ ।

आज बिहान करिब ७ः४० बजे प्रेसर कुकर बम विस्फोट भएको थियो । उक्त विस्फोटको जिम्म ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले लिएको हो ।

घटनास्थलमा भेटिएको उक्त पार्टीको पर्चामा बाँस्कोटालाई किन कारबाही भनेर १० बुँदा लेखिएको छ । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद काण्डमा ७० करोड घूसमा मोलमोलाई गरेको, २४ अर्बको सेटलाइट खरिद प्रकरणमा करोडौँ रकम भ्रष्टाचार गरेकोलगायत विभिन्न १० आरोप लगाउँदै विप्लव नेकपाले बास्कोटाको घरमा विस्फोट गराएको जनाएको छ ।

यी हुन् विप्लव समूहले बास्कोटाविरुद्ध लगाएका १० आरोप

१‍. सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदप्रकरणमा ७० करोड घूस मागेर भ्रष्टाचारी अनुहार उदाङ्गो पारेकाले ।

२. २४ अर्बको सेटलाइट खरिद प्रकरणमा करोडौँ रकम भ्रष्टाचार गरेकाले ।

३. १९ अर्बको फोर जी सेवा विस्तारका दौरान करोडौँ रकमको दुरुपयोग गरेकाले ।

४. १० अर्बको अप्टिकल फाइबर विस्तारमा करोडौँ कुम्ल्याएर देशलाई कङ्गाल बनाउने भुमिका खेलेकाले ।

५. मोबाइल डिभाइस र स्कुलमा इन्टरनेट सेवा–सुविधाका नाममा करोडौँ हिनामिना गरेकाले ।

६. सरकारको प्रवक्ता पदको दुरुपयोग गरी देशभरका ठूला परियोजनाबाट अर्बौं घोटाला गरेकाले ।

७. नेपाल कम्युनिस्ट पार्टीमाथि प्रतिबन्ध लगाउने, फासिवादी दमनको योजनाकार र हत्याको मतियार बनेकाले ।

८. राष्ट्र, जनता र क्रान्तिका विरुद्ध गोयबल्स शैलीमा निकृष्ट, उद्दण्ड, अराजनीतिक र गुण्डागर्दी भूमिकामा उत्रिएकाले ।

९. आफ्नो औकात भुलेर क्रान्तिप्रेमी जनतामाथि फासिवादी दमन लाद्ने, चरम असहिष्णु, दलाल पुँजीवादी सत्ताको असली ठेकेदार र मुलुकमा साँढेखालको दादागिरी मच्चाएकाले ।

१०. देशलाई अहिलेको जर्जर र सङ्कटग्रस्त अवस्थामा पुर्याउने नामुद दलाल भ्रष्टमध्ये एक भएकाले ।


सम्बन्धित खबरहरु