बेनी अस्पतालमा निःशुल्क डायलासिस सेवा

ओकेखबर संवाददाता २८ फाल्गुन २०७६, बुधबार ०९:२३ मा प्रकाशित ( साल अघि) ४६० पाठक संख्या

गलेश्वर । जिल्ला म्याग्दीको सदरमुकाम बेनी अस्पतालमा मिर्गौला रोगबाट पीडित बिरामीका लागि नियमित डायलासिस सेवा शुरु हुने भएको छ ।

गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयले बेनी अस्पताललाई डायलासिसका लागि आवश्यक उपकरणसहित बजेट विनियोजन गरेपछि आगामी चैत १ गतेबाट मिर्गौला उपचारका लागि डायलासिस सेवा शुरु गर्न लागिएको हो ।

गण्डकी प्रदेशले उपलब्ध गराएको चार वटा मेशिन र प्रवासी म्याग्देलीले दिएको दुईवटा मेशिन रहेको अस्पतालमा हेमोडायलासिस युनिट स्थापना गरिएको बेनी अस्पताल व्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर कटवालले बताउनुभयो ।

 

उहाँका अनुसार युनिटमा चिकित्सक, स्टाफ नर्ससहितको जनशक्तिसमेत व्यवस्थापन भइसकेको बताउनुभयो । पहिलो चरणमा तीन वटा बेड सञ्चालनमा ल्याउने उहाँले बताउनुभयो । छ वटा मेशिनबाट दुई सिफ्टमा १२ जना बिरामीलाई दैनिक सेवा दिने गरी व्यवस्था मिलाइएको अध्यक्ष कटुवालले बताउनुभयो । सेवा शुरु भएको छ महिनापछि आवश्यकताअनुसार बिहान, दिउँसो र साँझसमेत सेवा दिने योजना रहेको उहाँको भनाइ छ ।

 

सेवाको गण्डकी प्रदेश सामाजिक विकासमन्त्री नरदेवी पुनले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । मिर्गौलापीडित बिरामी अधिकांशको न्यून आर्थिक अवस्थाका हुने भएकाले यातायात, खानबस्ने खर्चको अभावमा गाउँमै रोग पालेर बस्न बाध्य भएको अवस्थामा डायलासिस सेवाले सहज भएको परोपकारी संस्था ओमकुमारी शान्ति कोषका कार्यालय सचिव एवं मिर्गौला प्रत्यारोपण गरेका मङ्गला गाउँपालिका–१ कुहुँका डकबहादुर रोकाले बताउनुभयो । मिर्गौलाका बिरामीले हप्ताको एकदेखि जटिलता हेरेर चार पटकसम्म डायलासिस गराउनुपर्ने हुन्छ । निजी अस्पतालमा एकपटक डायलासिस गराउँदा यातायात, खानाबस्नसहित गरी आठ हजारभन्दा बढीसम्म खर्च हुन्छ ।


सम्बन्धित खबरहरु