युरोपेली च्याम्पियन्स लिग: एटलान्टा क्वार्टर फाइनलमा

ओकेखबर संवाददाता २८ फाल्गुन २०७६, बुधबार ०८:१९ मा प्रकाशित ( साल अघि) ३१६ पाठक संख्या

काठमाडौं । भ्यालेन्सियालाई हराउँदै इटालियन क्लब एटलान्टा युरोपेली च्याम्पियन्स लिगको क्वार्टर फाइनलमा प्रवेश गर्न सफल भएको छ ।

बन्द रंगशालामा भएको खेलमा जोसिप इलिसिच एक्लैले चार गोल गर्दा दोस्रो लेगमा एटलान्टा ४–३ ले विजयी भयो । पहिलो लेगमा एटलान्टा ४–१ ले विजयी भएको थियो ।

खेलको तेस्रो मिनेटमा नै भ्यालेन्सियाका डिफेन्डर मोक्तार दियाखाबीले डिबक्स भित्र इलिसिचलाई लडाएपछि एटलान्टाले पेनाल्टी पायो । जसलाई इलिसिचले नै गोलमा परिणत गरे ।

२१औं मिनेटमा केभिन गामिरोले भ्यालेन्सियाका लागि गोल गर्दै खेल बराबरीमा पुर्‍याए । पहिलो हाफ सकिनु दुई मिनेटअघि दियाखाबीको ह्याण्डबलका कारण एटलान्टाले अर्को पेनाल्टी पायो । त्यसलाई पनि इलिसिचले गोलमा परिणत गर्दै पहिलो हाफअघि एटलान्टालाई समग्रमा ६–२ को अग्रता दिलाए ।

दोस्रो हाफ सुरु भएको ६ मिनेटमा गामिरोले र ६७औं मिनेटमा फेरान टोरेसले गोल गर्दै भ्यालेन्सियालाई खेलमा फर्काउने प्रयास गरेका थिए । तर, इलिसिचलाई भ्यालेन्सियाले रोक्न सकेन ।

७१औं मिनेटमा २० यार्ड टाढाबाट हानेको प्रहार गोलमा परिणत गर्दै इलिसिचले ह्याट्रिक पूरा गरे । उनी च्याम्पियन्स लिगमा ह्याट्रिक गर्ने पहिलो स्लोभेनियन खेलाडी समेत बने ।

८२औं मिनेटमा इलिसिचले अर्को गोल गरेपछि एटलान्टाले समग्रमा ८–४ को जित निकाल्यो ।


सम्बन्धित खबरहरु