प्रधानमन्त्रीको डिस्चार्ज चाहना, सामान्य अवस्थामा आउन ६ महिनादेखी वर्ष दिन लाग्ने

ओकेखबर संवाददाता २८ फाल्गुन २०७६, बुधबार ०७:३१ मा प्रकाशित ( साल अघि) २१८ पाठक संख्या

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरेपछि शल्यक्रिया गरेको घाउमा खाटा बस्दै छ। त्रिवि शिक्षण अस्पतालको आईसीयूमा उपचाररत ६९ वर्षीय प्रधानमन्त्री ओलीको डिस्चार्ज हुने चाहना छ।

उनि अस्पतालको आईसीयूमै सामान्य हिँडडुल गर्न सक्छन्। चिकित्सकका अनुसार उनी क्रियाशील हुन खोजे पनि संक्रमणको जोखिम छ। प्रधानमन्त्री ओलीकी निजी चिकित्सक एवं वरिष्ठ मिर्गौला रोग विशेषज्ञ प्रा.डा. दिव्या सिंह शाहका अनुसार चिकित्सकहरूले सहज महसुस नगरेसम्म डिस्चार्ज गर्ने सम्भावना छैन।

डा. शाहले मंगलबार आयोजित पत्रकार सम्मेलनमा भनिन्, ‘जबसम्म हामी चिकित्सकले ठिक छ भन्ने महसुस गर्दैनौं, तबसम्म डिस्चार्ज गर्दैनौं। तर अहिलेसम्मको प्रगति हेर्दा चाँडै डिस्चार्ज गर्छौं।’ उनले डिस्चार्जको दिन तोक्न आनाकानी गरिन्। प्रधानमन्त्री ओलीको गत बुधबार मिर्गौला प्रत्यारोपण गरिएको हो।

चिकित्सकका अनुसार प्रधानमन्त्री ओलीले छिट्टै निवासमा जाने चाहना व्यक्त गरेका छन्। ‘मोबिलाइज गरियो भने नियमित खानामा चाँडै आउन सक्नुहुन्छ। सुतिराख्दा पनि मांसपेशीमा समस्या हुन सक्छ।
प्रधानमन्त्री ओलीलाई डिस्चार्ज गराएपछि बालुवाटारस्थित प्रधानमन्त्री निवास र निजी निवासमा संक्रमणबाट जोगाउन उचित व्यवस्थापन गर्नुपर्ने हुन्छ। ‘एक÷दुई दिन अस्पतालमा राखिदिए घरमा आवश्यक तयारी गर्ने थियौं भन्ने अनुरोध आएको छ। प्रधानमन्त्री अलि चाँडै जान चाहनुहुन्छ’, डा. शाहले भनिन्। डा. शाहका अनुसार प्रधानमन्त्री ओलीले संक्रमणको जोखिम हुने भएकाले सावधानी अपनाउनुपर्छ।

प्रधानमन्त्री कार्यालय वा सचिवालयबाट आफ्नो कार्य गर्न सक्नुहुन्छ। रुघाखोकी लागेको तथा अन्य संक्रमण भएका व्यक्तिबाट जोगिनुपर्छ। त्यसका लागि केही दुरीमा बसेर काम गर्न सक्नुहुन्छ। ६ महिना वर्ष दिनपछि साधारण मान्छे जसरी काम गर्न सक्नुहुनेछ ।


सम्बन्धित खबरहरु