ट्रिपर ठक्करबाट तीनको मृत्यु

ओकेखबर संवाददाता २१ फाल्गुन २०७६, बुधबार १०:०३ मा प्रकाशित ( साल अघि) २७१ पाठक संख्या

विराटनगर । विराटनगर महानगरपालिका–१९ स्थित मिलनचोकमा टिपरको ठक्करबाट टेम्पोमा सवार दुई जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार उत्तरतर्फबाट आइरहेको को१क २९१७ नंको टिपरले विपरीत दिशातर्फ गइरहेको टेम्पोलाई मङ्गलबार राति ९ः३० बजे ठक्कर दिँदा दुई जनाको मृत्यु भएको हो ।

टेम्पो चालक ग्रामथान गाउँपालिका बस्ने ४५ वर्षीय बाबुुराम सरदार र उनका छ वर्षीया नातिनी आरोही सरदारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख विश्व अधिकारीले बताउनुभयो । घटनापछि आक्रोशित स्थानीयवासीले टिपरमा आगजनी गरेका छन् । दुर्घटना गर्ने टिपर चालकलाई आवश्यक अनुसन्धानका लागि प्रहरीले नियन्त्रणमा लिएको छ ।

त्यस्तै महोत्तरी–धनुषालाई जोड्ने भिठ्ठामोर–जलेश्वर–जनकपुर सडकमा टिपरले ठक्कर दिएको मोटरसाइकल चालकको उपचारका क्रममा मृत्यु भएको छ । मङ्गलबार साँझ जनकपुरबाट जलेश्वरतर्फ बीआर३०एक्स ७७०२ नंको मोटरसाइकलमा आउँदै गर्दा जनकपुरतर्फ जाँदै गरेको ना१क ५८२६ नंको टिपरले ठक्कर दिँदा घाइते भएका महोत्तरीको सम्सी गाउँपालिका–५ का ३५ वर्षीय कालीचरण यादवको जलेश्वर अस्पतालमा आज बिहान उपचारका क्रममा मृत्यु भएको हो । यादवको कम्मरमुनिको भाग क्षतविक्षत भएको थियो ।

अस्पतालमा सघन उपचारकै क्रममा यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । दुर्घटनामा परेका दुवै सवारीसाधन नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीले जानकारी दिए ।


सम्बन्धित खबरहरु