‘जेलमा सँगै बसेका सहयोद्धा केपी ओली दुईपटक प्रधानमन्त्री बनिसके, म चुहिने झुप्रोमै’

चन्द्रकला भण्डारी २१ फाल्गुन २०७६, बुधबार ०९:५४ मा प्रकाशित ( साल अघि) ७४२ पाठक संख्या

भद्रपुर । एउटा सानो झुपडी । साँगुरा दुई कोठा । साँझ बिहान चुलो बाल्न पनि धौँधौं । पुरानो भइसकेको त्यो झुपडीमा खियाले खुइलिएको टिनको छानोबाट दर्के पानी चुहिन्छ । सिमेन्ट नमुछी उभ्याइएको इँटाको भित्तो अढेस लाग्दा भत्केला भन्ने डर । मूलढोकामा चुकुल छैन । झ्याललाई प्लास्टिकले बेरिएको छ ।

हो, पञ्चायतविरुद्धको आन्दोलनमा १७ वर्ष लगातार जेल जीवन बिताएका दुर्गा अधिकारीको दैनिकी सजीलो छैन । झापा विद्रोहका जिउँदा शहीद हुन् दुर्गा अधिकारी ।

बस्न र खान मात्र होइन, उहाँलाई आफ्नो र पत्नीको उपचारको पनि उत्तिकै चिन्ता छ । आफू दमको रोगी र श्रीमती मानसिक, मधुमेह र थाइराइडको बिमारी छिन् । दुवैजना नियमित औषधि सेवन गर्छन् । विर्तामोडस्थित पूर्णटुङ्ग विर्तासिटी अस्पतालले उहाँको स्वास्थ्योपचार र श्रीमतीलाई मधुमेहको औषधि निःशुल्क दिँदै आएको छ । घर बसाउन सहयोग पु¥याउनुभएका सहयोद्धा बानियाँ पार्टीले सहयोगमा कुनै कमी नगरे पनि सरकारीस्तरबाट भने दिगो आवास र निर्वाहका लागि व्यवस्था गरिदिए उचित हुने बताउँछन् । घरेलु व्यवस्थापन कमजोर हुँदा आर्थिक स्थिति सुदृढ नबनेको बानियाँको भनाई छ ।

त्यो झुप्रो तत्कालीन नेकपा (एमाले)का कार्यकर्ताको सहयोगमा २७ वर्षअघि बनाइएको पार्टीका नेता हरिचरण बानियाँले बताए। “सानो उमेरमै आन्दोलनमा लागेर लामो अवधि जेल पर्नुभयो, जेलबाट निस्कँदा जाने ठाउँसम्म थिएन”, पार्टीका पुराना नेता बानियाँले भने, “पार्टीका साथीहरुबाट जोरजाम गरिएको सहयोगले टिमाई किनारमा ऐलानी जग्गा खोजेर एउटा घर बनाइदियौँ, अहिलेसम्म उहाँ त्यहीँ बस्दै आउनुभएको छ ।”

जेलमा सँगै बसेका सहयोद्धा केपी शर्मा ओली दुईपटकसम्म प्रधानमन्त्री बनिसक्नुभयो भने राधाकृष्ण मैनाली, सीपी मैनालीहरु मन्त्री भइसक्नुभयो । नरेश खरेल, मनकुमार गौतम, घनेन्द्र बस्नेतहरु सांसद बनिसक्नुभयो तर जेलबाट छुटेपछि पानी नचुहिने घरसम्म बनाउन सक्नुभएको छैन, अधिकारीले । पार्टीका शुभेच्छुकहरुको सहयोगमा हालसम्म दुःखले गुजारा चलाउँदै आउनुभएका उहाँले बिहान–बेलुका हातमुख जोर्ने भरपर्दो स्रोतको व्यवस्थासमेत गर्न सक्नुभएको छैन ।

झापा विद्रोहमा लागेर १० वर्षभन्दा बढी जेलमा पर्नुभएका १० नेतामध्येमा उउनि एक हुन् । उनिसँगै जेलमा रहेका रामनाथ दाहाल, नेत्र घिमिरे, वीरेन राजवंशी, कृष्ण कुइँकेल र नारायण श्रेष्ठलाई तत्कालीन पञ्चायती शासकले झापाबाट इलामको जेल सार्ने निहुँमा विसं २०२९ फागुन २१ गते सुखानीमा सामूहिक हत्या गरेको थियो ।

“सोह्र–सत्र वर्षको केटो थिएँ, राजनीतिक सिद्धान्तका कुराभन्दा पनि जमिन्दारको शोषण र ज्यादतिविरुद्ध हतियार उठाउनुपर्छ भन्ने कुराले प्रभावित भएर म पूर्णकालीन कार्यकर्ता भएर झापा विद्रोहमा लागेको थिएँ”, विद्रोहमा लाग्दाको पुरानो घटना सम्झँदै उनि भन्छन्, “वान युनिट वान एक्सन भन्दै वर्गशत्रु सफाया अभियान चलेलगत्तै पञ्चायती सरकारले घरघरमा छापा मार्दै धरपकड शुरु गर्दा मलाई झापा र इलामको सिमानामा पर्ने बुधबारेको भोटेटारमा रामनारायण प्रधानसँगै गिरफ्तार गरेको थियो ।”

घरमा सुतिरहेको बेला राति नै पञ्चायतका जासुसहरुले पुलिस र ‘भिजिलान्ते’ जत्था बोलाएर घेराउ गरी भालाले घोचेर मरणासन्न अवस्थामा आफू गिरफ्तार भएको थियो । भालाले घोचेर रक्ताम्मे अवस्थामा उनिसंगै गिरफ्तार भएका अर्का क्रान्तिकारी योद्धा प्रधानको प्रहरीले घिस्याएर लैजाँदा–लैजाँदै बाटामा मृत्यु भएको थियो । उनि सम्झन्छन्, “सँगै सुतेका साथीलाई घोचेरै मारेको देखेँ, देश र जनताको मुक्तिका लागि सङ्घर्षमा होमिएका हामीलाई मर्न पनि डर थिएन ।”

प्रधानमन्त्री केपी शर्मा ओलीलगायतका तत्कालीन नेताहरुसँग चन्द्रगढी, नक्खु र केन्द्रीय कारागारमा गरी १७ वर्ष कठोर कारावास भोगेका उनि छ वर्षसम्म नेल र हत्कडीसहित गोलघरमा बसेपछि विसं २०४६ मा रिहा भएका थिए । जेलबाट बाहिर निस्कँदा उहाँको जाने घर र खान दिने आफन्तको टुङ्गो थिएन । जमिन्दारको अत्याचारविरुद्ध बोल्दा उहाँकी दिदीको समेत हत्या भएको थियो ।

जेलमुक्त भएपछि पार्टीका तत्कालीन साथीहरु रविन कोइराला, भीम खवास, हरिचरण बानियाँ, तेजराज खतिवडालगायतले सानो झुपडी बनाएर टिमाईको किनारमा बास बस्ने व्यवस्था मिलाइदिएको योद्धा अधिकारी बताउँछन्। इलामको शान्तिपुर (हाल रोङ गाउँपालिका)मा गरीब परिवारमा जन्मिएका अधिकारीको बाल्यकाल भने झापाको बुधबारेको होक्सेमा बित्यो । सत्र वर्षमै पार्टीको पूर्णकालीन कार्यकर्ता भएर घर त्यागेका उनको जीवनको उर्वर युवा समय जेलमा बित्यो । पढ्न, लेख्न पनि पाएनन् । राजनीतिक योगदान अतुलनीय हुँदाहुँदै पनि शैक्षिक योग्यता नभएका कारण उनले पार्टीमा कुनै जिम्मेवारी र रोजगारीको अवसर पाएनन् ।

त्यसो त पार्टीले केही गरेन भनेर उहाँले गुनासो गर्न छाडिसकेको बताउछन् । “अवस्था सबैले देखेका छन्, धेरैपटक केही गराँैला भनेर आश्वासन मात्रै बाँड्छन्”, उनि भन्छन्, “जीवनभर पार्टीका लागि दिलोज्यानले लागेँ, अबको बुढेसकालमा कमसेकम बास बस्ने झुप्रो पानी नचुहिनेसम्मको होस् भनेर सत्तामा पुगेका साथीहरुले सोचिदिएहुन्थ्यो भन्ने चाहना छ ।”

उनको सबैभन्दा ठूलो पीर अहिले आफू बसेको झुपडीको जग्गाको छ । विसं २०५२ मा गठन भएको सुकुम्वासी समस्या समाधान आयोगले उहाँ बसेको झुपडीमा १९ धुर जग्गा कायम ग¥योे । सो जग्गा हालको मेचीनगर–१० मा पर्दछ । विसं २०६७ मा प्रेम दाहालको अध्यक्षतामा गठित आयोगले १९ धुर जग्गाको ८४९ नं कित्ता कायम गर्दै जग्गा दर्ता प्रमाणपत्र उनलाई दिइयो । तर सो जग्गा अतिक्रमणमा परेर हाल पाँच धुरमा सीमित भएको छ । साविकको १९ धुर जग्गा कायम गराइदिन उनि अहिले विभिन्न नेता तथा निकायमा हारगुहार गरिरहेका छन् ।

प्रदेशसभा सदस्य गोपाल बुढाथोकीले अतिक्रमणमा परेको उनको जग्गा दिलाइदिन र त्यसमा एउटा पक्की संरचना भएको घर बनाइदिन पहल भइरहेको बताउँछन् । मालपोत र नापी कार्यालयमा जग्गाको सरपट नापीसहित पूरै १९ धुर जग्गाको धनीपुर्जा दिन निवेदन दिइएको र निर्णय आउन बाँकी रहेको बुढाथोकीले जानकारी दिए ।

जेलबाट छुटेपछि ढिलो विवाह गरेका अधिकारीको एक मात्र छोरी रक्षा अधिकारी पार्टी र ससुरालीतिरको संयुक्त पहलमा अमेरिकामा नर्सिङ पढ्दै छिन् । छोरीले पढाइसँगै आंशिक जागिरबाट कमाएर पठाइदिएको रकमले बिहान बेलुकाको छाक टार्न सहज हुन थालेको उनि बताउँछन् । “केही सानोतिनो काम माग्न जाँदा तपाई त्यत्रो जेल बसेको मान्छे कसरी काम लगाउनु भनेर पन्छिने गर्छन्”, रोजगारी पाउनसमेत गाह्रो छ, उनि भन्छन् ।

प्रदेशसभा सदस्य बुढाथोकीले सानो–ठूलो सहयोग निरन्तर भइरहे पनि स्थायी आयस्रोत केही नभएका कारण उहाँ आर्थिक सङ्कटमा फसेको बताउँदै घर मर्मतसम्भारका लागि सांसद राम कार्कीलगायतले हालै रु ६५ हजार दिएको बताए । सभासदस्य बुढाथोकीले अधिकारीको जग्गा अतिक्रमणबाट मुक्त भएपछि पक्की घर बनाउन पहल गरिने बताएका छन् । रासस


सम्बन्धित खबरहरु