प्रधानमन्त्रीको मनोबल उच्च, ९ बजेदेखि शल्यक्रिया शुरु

ओकेखबर संवाददाता २१ फाल्गुन २०७६, बुधबार ०७:१७ मा प्रकाशित ( साल अघि) ३१५ पाठक संख्या

काठमाडौं । शिक्षण अस्पताल महाराजगन्जमा बुधबार प्रधानमन्त्री केपी ओलीको दोस्रोपटक मिर्गौला प्रत्यारोपण गरिँदै छ । उनलाई भान्जी नाता पर्ने झापाकी ३२ वर्षीया समीक्षा संग्रौला ज्ञवालीले मिर्गौला दिँदै छिन् । ओली सोमबार साँझ नै  भर्ना भएका थिए ।

शिक्षण अस्पतालका युरोलोजी तथा ट्रान्सप्लान्ट सर्जिकल विभागका प्रमुख प्रा.डा. उत्तमकुमार शर्मा र युरोलोजी तथा ट्रान्सप्लान्ट सर्जन प्रा।डा। प्रेमराज ज्ञवाली नेतृत्वको टोलीले प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण गर्दै छ । बिहान ९ बजेदेखि शल्यक्रिया सुरु गरिने डा। ज्ञवालीले बताए । पाँच घन्टामा प्रत्यारोपणको काम सकिनेछ ।

प्रधानमन्त्री ओलीको पहिलोपटक मिर्गौला प्रत्यारोपण गरेका भारतीय चिकित्सक प्रा.डा. अनन्तकुमार पनि काठमाडौं आएका छन् । नेपाल मेडिकल काउन्सिलले मंगलबार उनलाई ६ दिनका लागि विदेशी नागरिक चिकित्सक दर्ता स्वीकृति दिएको छ । ओलीले ०६४ मा भारतको एपोलो अस्पतालमा पहिलोपटक मिर्गौला प्रत्यारोपण गराएका थिए ।

चिकित्सकहरूका अनुसार प्रधानमन्त्रीमा उच्च मनोबल छ । प्रत्यारोपणको अन्तिम तयारीस्वरूप मंगलबार दिउँसो प्रधानमन्त्री ओलीको डायलाइसिस गर्नुका साथै पिसाब, रगत, छाती र दाँतको परीक्षण गरिएको थियो । सबैको रिपोर्ट सामान्य देखिएको छ । चिकित्सकहरूका अनुसार उनलाई प्रत्यारोपण गर्नुपूर्व दिइने प्रि–औषधिहरू दिन सुरु गरिएको छ । यसअघि नै प्रधानमन्त्री ओलीको मुटु, फोक्सो र कलेजोको परीक्षण भइसकेको छ । ओलीलाई शिक्षण अस्पतालको ६०१ नम्बर क्याबिनमा राखिएको छ ।

उपचारमा संलग्न एक चिकित्सकका अनुसार प्रधानमन्त्रीको उपचारबारे कुनै पनि सूचना बाहिर नदिने निर्णय भएको छ । मंगलबारदेखि प्रत्यारोपण टिमबाहेक अरूलाई कलेजो प्रत्यारोपण युनिटमा प्रवेशमै रोक लगाइएको छ । प्रत्यारोपण सम्पन्न भएपछि भने अस्पतालले प्रत्येक दिन विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे जानकारी गराउनेछ । तर, चिकित्सकहरूले पत्रकारसँग सवाल–जवाफ भने गर्नेछैनन् ।


सम्बन्धित खबरहरु