नेपाल बैंकको ‘ब्राण्ड एम्बेस्डर’मा डा पुन

ओकेखबर संवाददाता २० फाल्गुन २०७६, मंगलवार ०९:११ मा प्रकाशित ( साल अघि) २०७ पाठक संख्या

काठमाडौँ, २० फागुन । राष्ट्रिय आविष्कार केन्द्र नेपालका अध्यक्ष युवा वैज्ञानिक डा. महावीर पुन मुलुकको पहिलो बैंक नेपाल बैंक लिमिटेडको ‘ब्राण्ड एम्बेस्डर’मा  नियुक्त हुनुभएको छ ।  नवीन सोच भएका युवालाई उद्यमी बन्न र मुलुकको आर्थिक विकासमा योगदान दिन लागिपरेका पुनसँग ब्राण्ड एम्बेस्डर नियुक्ति सम्झौतामा बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारी र डा. पुनले सोमबार हस्ताक्षर गर्नुभयो ।

प्रमुख कार्यकारी अधिकृत अधिकारीले पुनलाई बधाइ दिँदै राष्ट्रिय आविष्कार केन्द्र स्थापना गरेर नयाँँ सोच भएका युवालाई उद्यमी बन्न प्रेरित गरिरहेका व्यक्तिलाई ब्राण्ड एम्बेस्डर नियुक्त गर्न पाउनु गर्वको विषय भएको बताउनुभयो । उहाँले नेपाल बैंक युवा उद्यमीसँग हातेमालो गर्दै देशको समृद्धिका लागि योगदान दिन तयार रहेको बताउनुभयो ।

सम्झौतापछि पुनले नेपालकै सबैभन्दा जेठो बैंकको ब्राण्ड एम्बेस्डर बन्नु पाउनु आफ्ना लागि सौभाग्य भएको बताउनुभयो । उहाँले देशको समृद्धिका लागि अगाडि बढ्ने मौका आएको भन्दै नेपाल बैंकको प्रगतिका लागि सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

जनस्तर र विदेशीको सहयोगमा स्थापित केन्द्रले ड्रोन, बायोमेडिकल, कृषि, शिक्षा, स्वास्थ्यलगायतका २० वटा क्षेत्रमा नयाँ–नयाँ अनुसन्धानको काम गरिरहेको छ । वायरलेस प्रविधिद्वारा देशको ग्रामीण क्षेत्रमा सूचना प्रवाह गर्ने लक्ष्य बोकेर नेपाल वायरलेस सञ्जाल परियोजनामार्फत इन्टरनेट सञ्जाल विस्तार गर्न सफल व्यक्तित्व पुन म्याग्दी जिल्लाको नाङ्गीगाउँमा जन्मिनुभएको हो । उहाँले एशियाको नोबेल पुरस्कारले चिनिने ‘रोमन मेग्यासेसे अवार्ड’ जस्ता महत्वपूर्ण सम्मान पाउनुभएको छ ।

विसं १९९४ कात्तिक ३० गते नेपाल सरकार र निजी क्षेत्रको साझेदारीमा स्थापना भई अविच्छिन्नरूपमा नेपालमा बैंकिङ सेवा प्रवाह गर्दै आएको नेपालको पहिलो बैंक नेपाल बैंकले ८३ वर्षको इतिहास बनाएको छ । बैंकमा नेपाल सरकारको ५१ प्रतिशत र निजी क्षेत्रको ४९ प्रतिशत शेयर हिस्सा कायम छ ।


सम्बन्धित खबरहरु