मिर्गौला प्रयारोपणका लागि प्रधानमन्त्री ओली आज अस्पताल भर्ना

ओकेखबर संवाददाता १९ फाल्गुन २०७६, सोमबार ०७:२४ मा प्रकाशित ( साल अघि) ३०८ पाठक संख्या

काठमाडौं । प्रधानमन्त्री केपी ओलीको आगामी बुधबार दोस्रोपटक मिर्गौला प्रत्यारोपणका लागि सोमबार त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा भर्ना हुँदै छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा नेकपा सचिवालयको आइतबार बसेको बैठकमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री ओलीले त्रिवि शिक्षण अस्पतालमा बुधबार प्रत्यारोपणलगायत आफ्नो स्वास्थ्योपचार योजनाबारे बताउनुभएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठकपछि पत्रकारलाई जानकारी दिनुभयो ।

ओलीलाई उनकी भान्जीले मिर्गौला दिने उपचारमा संलग्न एक चिकित्सकले बताए । प्रत्यारोपणअघि उनलाई कुनै समस्या आए मिर्गौला दिन नातिनी र भान्जा पनि तयार छन् ।

दुवै मिर्गौला फेल भएपछि ०६४ मा भारतको अपोलो अस्पतालमा ओलीको पहिलोपटक मिर्गौला प्रत्यारोपण गरिएको थियो ।

प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण शिक्षण अस्पतालका युरोलोजी तथा ट्रान्सप्लान्ट सर्जन प्रा.डा. प्रेमराज ज्ञवाली नेतृत्वको टोलीले गर्नेछ । नियमित प्रत्यारोपण गर्ने शिक्षण अस्पतालकै अन्य चार सर्जन पनि टोलीमा सहभागी हुनेछन् ।
प्रधानमन्त्री ओली गत १८ साउनमा स्वास्थ्य परीक्षणका लागि सिंगापुर गएका थिए । २७ साउनमा स्वदेश फर्किएका उनले ५ भदौमा फेरि सिंगापुर पुगेर प्लाज्मा फेरेसिस प्रक्रियामार्फत उपचार गराएका थिए । त्यसले काम नगरेपछि ओलीको मिर्गौला डायलाइसिस गर्नुपर्ने अवस्थामा पुगेको थियो । उनले १४ कात्तिकदेखि नियमित डायलाइसिस गराउँदै आएका थिए ।


सम्बन्धित खबरहरु