नेपाल भ्रमण वर्ष २०२० स्थगित

ओकेखबर संवाददाता १९ फाल्गुन २०७६, सोमबार ०६:५६ मा प्रकाशित ( साल अघि) ४०७ पाठक संख्या

काठमाडौं । देशलाई समृद्ध बनाउन कोषेढुङ्गाका रुपमा हेरिएको नेपाल भ्रमणवर्ष २०२० लाई सरकारले स्थगित गर्ने तयारी गरेको छ । कोरोना भाइरसको जोखिम बढ्दै गएपछि सरकारले नेपाल भ्रमण वर्ष २०२० स्थगित गर्ने तयारी गरेको हो ।

आइतबार बेलुकी बसेको मन्त्रिपरिषद बैठकमा भ्रमण वर्ष स्थगित गर्नेबारे छलफल भएको एक मन्त्रीले उज्यालोलाई जानकारी दिएका छन् । तर यसबारे औपचारिक निर्णय भने हुन बाँकी छ ।

नेपाल पनि कोरोना भाइरसको जोखिममा रहेको विश्व स्वास्थ्य संगठनले चेतावनी दिइसकेको अवस्थामा भ्रमण वर्ष र सगरमाथा सम्वाद सान्दर्भिक नहुने भएकाले दुवै कार्यक्रम स्थगित गर्नेबारे प्रधानमन्त्रीले बैठकमा कुरा राख्नुभएको ती मन्त्रीले बताए । प्रधानमन्त्रीले भ्रमण वर्ष अहिलेलाई स्थगित गरेर पछि सार्ने प्रस्ताव गर्नुभएकाले केही दिनभित्रै यसबारे निर्णय गर्ने तयारी छ । यसबारे पर्यटन मन्त्रालयले विश्लेषण गरेर आवश्यक निर्णय लिनेछ ।

आइतबार मन्त्रिपरिषद् बैठक लगतै समिति बैठक बसेको थियो । समितिको बैठकमा पनि नेपाल भ्रमण वर्ष र सगरमाथा सम्वाद स्थगित गर्नेबारे छलफल भएको छ ।

यसैगरी सरकारले कोरोना संक्रमित देशबाट आउने विमान र यात्रुलाई रोक्ने तयारी पनि गरेको छ । चीन, जापान, दक्षिण कोरिया, हङकङ, इरानबाट आउने यात्रुहरुलाई रोक्ने सरकारको तयारी छ । आइतबारदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुको स्वास्थ्य जाँच पनि थालिएको छ ।


सम्बन्धित खबरहरु