इटालियन सिरि ए मा लाजियो शीर्ष स्थानमा उक्लियो

ओकेखबर संवाददाता १८ फाल्गुन २०७६, आईतवार ०७:१३ मा प्रकाशित ( साल अघि) ३५७ पाठक संख्या

काठमाडौं । इटालियन सिरी ए फुटबलमा लाजियो शीर्ष स्थानमा उक्लिएको छ । शनिबार राति भएको खेलमा बोलोगनालाई दुई–शून्यले हराउँदै लाजिलयो शीर्ष स्थानमा उक्लिएको हो ।

लाजियो युभेन्टसभन्दा दुई अङ्कले अघि छ । तर युभेन्टसले एक खेल कम खेलेको छ । युभेन्टसको खेल भने कोरोना भाइरसको सङ्क्रमणका कारण स्थगित नै गरिएको छ ।

लाजियोलाई जिताउन लुइस अल्बेर्टो र कार्लोस कोरेराले एक–एक गोल गरे । लाजियोले दुवै गोल पहिलो हाफमा गरेको हो । १८‍ औँ मिनेटमा लुइसले गोल गर्दै लाजियोलाई अग्रता दिलाएका थिए । त्यसको तीन मिनेटपछि नै कोरेराले गोल थपेपछि लाजियोले पहिलो हाफमा दुई–शून्यको अग्रता लियो ।

दोस्रो हाफमा थप गोल नभएपछि लाजियो तीन अङ्क बटुल्दै शीर्ष स्थानमा पुग्न सफल भयो ।

शनिबार नै भएको अर्को खेलमा नापोलीले टोरिनोलाई दुई–एक गोल अन्तरले हराएको छ । नापोलीका लागि कोस्टास मनोलसले १९ ‍औँ र गियोभानी डी लोरिन्जोले ८२ औँ मिनेटमा गोल गरे । टोरिनाका लागि खेलको ९१ औँ मिनेटमा सिमोनी इडेराले सान्त्वना गोल गरे । एजेन्सी ।


सम्बन्धित खबरहरु