कोरोनाभाइरसका कारण इरानमा २१० जनाको मृत्युु, विश्वमा संक्रमितको संख्या ८३ हजार पुग्यो

ओकेखबर संवाददाता १७ फाल्गुन २०७६, शनिबार १४:२९ मा प्रकाशित ( साल अघि) ३०६ पाठक संख्या

काठमाडौं । इरानमा कोरोनाभाइरसको सङ्क्रमणबाट कम्तीमा २१० जनाले ज्यान गुमाएका छन् । अधिकांश पीडितहरू राजधानी तेहरानका र शुरूमा भाइरस देखिएको कुम सहरका छन्।

यो सङ्ख्या स्वास्थ्य मन्त्रालयले शुक्रवार सार्वजनिक गरेको ३४ भन्दा छ गुणा बढी हो। स्वास्थ्य मन्त्रालयका प्रवक्ताले भने सरकारले पारदर्शी रूपमा विवरण बाहिर ल्याएको भन्दै मिथ्या सूचना फैलाइएको बताएका छन्।

तेहरानको नगर परिषद्का एक अधिकारीले कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्या केही हप्तामा १० देखि १५ हजार पुग्ने बताएका छन्।

विश्व स्वास्थ्य सङ्‍गठन डब्लुएचओका आपत्‍कालीन कार्यक्रमका निर्देशक डा। माइकल रायनले इरानमा देखिएको उच्च मृत्युदरले शुरूमा अनुमान गरिएको भन्दा कोरोनाभाइरसको प्रकोप ठूलो रहेको देखाएको बताएका छन्।

आइतवार वा सोमवारसम्म मद्दतका लागि डब्लुएचओको एउटा टोली इरान पुग्दैछ।

हालसम्म विश्वमा ८३,००० भन्दा बढी कोभिड–१९ का सङ्‍क्रमणका घटना प्रमाणित भएका छन् र अघिल्लो वर्ष यो रोग देखिएयता २,८०० जनाको मृत्यु भइसकेको छ।

शुक्रवार अपरान्ह इरानले १४३ वटा नयाँ घटनाहरू देखा परेको भन्दै देशभर ३८८ जनालाई कोरोनाभाइरसको सङ्क्रमण भएको पुष्टि भएको बताएको थियो।

इरानी अधिकारीहरूले कोभिड-१९ नियन्त्रणका लागि मानिसहरूलाई घरभित्रै बस्न, अन्तरक्रिया र आवतजावत नियन्त्रण गर्न, भेलाहरूमा सहभागी नहुन र व्यक्तिगत रूपमा अपनाउनुपर्ने सावधानीका उपाय मान्न सुझाव दिइरहेका छन् । बीबीसी


सम्बन्धित खबरहरु