कोरोना भाइरस : जापानभर विद्यालयहरू बन्द

ओकेखबर संवाददाता १५ फाल्गुन २०७६, बिहीबार २०:१६ मा प्रकाशित ( साल अघि) ५५५ पाठक संख्या

काठमाडौं । चिनबाट फैलिएको कोरोना भाइरस विश्वभर फैलिदै जाने क्रम बढेको छ । फलस्वरुप सङ्क्रमण फैलिनबाट रोक्नको लागि जापानभर विद्यालयहरू बन्द गर्न लागिएको छ । बिहीबार प्रधानमन्त्री शिन्जो आबेले नयाँ कोरोना भाइरसको सङ्क्रमण रोक्नको लागि देशभरका विद्यालय केही हप्ता बन्द गर्न आग्रह गर्नुभएको हो ।

जापानमा कोरोना भाइरसका कारण चौथो व्यक्तिको ज्यान गएपछि प्रधानमन्त्रीले यस्तो आह्वान गर्नुभएको हो । कोरोना भाइरस सङ्क्रमित यात्रु भेटिएपछि जहाजमा नै क्वारेन्टाइनमा राखिएका करिब ७०० यात्रुलाई जापानमा डायमण्ड प्रिन्सेस नामक पानीजहाजका चालक दलका सदस्यले छोडिदिएपछि पछिल्लो कदम आएको हो ।

‘सरकारले बच्चाहरूको स्वास्थ्य र सुरक्षालाई अरूभन्दा उच्च प्राथमिकता दिनुपर्छ,’ आबेले भन्नुभयो । हामी देशभरका सबै प्राथमिक निम्न माध्यामिक र माध्यमिक विद्यालयलाई यही मार्च २ गतेदेखि अस्थायीरूपमा केही समयका लागि अर्थात् हिउँदे बिदासम्मका लागि बन्द गर्न आह्वान गरेका छौँ ।

जापानमा ‘स्प्रिङ होलिडे’ मार्चको अन्त्यमा सुरू हुने गर्छ । जापानको उत्तरी होकाइदो शहरमा गत बिहीबार एक असी वर्ष पार गरेका वृद्धलाई कोरोना भाइरस सङ्क्रमण पुष्टि भएपछि त्यहाँका सार्वजनिक प्राथमिक तथा निम्नमाध्यमिक विद्यालयहरू यस अघि देखि नै बन्द भइसकेका छन् । एजेन्सी ।


सम्बन्धित खबरहरु