कोरोना भाईरस : चीनमा मात्रै मृत्यु हुनेको संख्या २७ सय नाघ्यो

ओकेखबर संवाददाता १४ फाल्गुन २०७६, बुधबार १५:३६ मा प्रकाशित ( साल अघि) ५१२ पाठक संख्या

एजेन्सी । केरोना भाईरसका कारण मृत्यु हुनेको संख्या चीनमा मात्रै २ हजार ७१५ जना पुगेको छ ।
चीनमा पछिल्लो समय ५२ जनाको नयाँ कोरोना जीवाणु भाइरस कारण मृत्यु भएको त्यहाँका स्थानीय संचारमाध्यमले जनाएका छन् ।

तीन हप्तादेखि दिनहुँ एकसय भन्दा बढीको संख्यामा मृत्यु हुनेक्रममा केही कमी स्थानीय संचारमाध्यमले जनाएका छन् ।

हालसम्म चीनमा कोरोनाकै कारण मृत्यु हुनेको संख्या २ हजार ७१५ जना पुगेको छ ।

पछिल्लो समय मृत्यु भएका सबै कोरोनाको प्रकोपको केन्द्र हुबेई प्रान्तका छन् । राष्ट्रिय स्वास्थ्य आयोगले बुधबार ४०१ जना नयाँ सङ्क्रमित व्यक्ति भेटिएको पनि जनाएको छ ।

चीनमा अहिलेसम्म नयाँ सङ्क्रमित व्यक्तिको संख्या घटेको देखिएको छ, र चीनका अरु धेरै प्रान्तमा नयाँ रोगी बिल्कुलै देखिएका छैनन् ।

हुबेई प्रान्त बाहिर पाँच जनामा मात्र कोरोना देखिएको थियो, र यो एक महिनाको अवधिमा सबैभन्दा कम हो । तर हुबेईको राजधानी उहानमा गत वर्षको अन्त्यतिर शुरु भएर चीनमा मात्र ७८ हजारभन्दा बढीलाई सङ्क्रमित तुल्याएको यो भाइरस विश्वका दर्जनौं देशहरूमा फैलिइ सकेको छ ।

दक्षिण कोरियामा मृत्यु हुनेको संख्या बुधबारसम्ममा ११ जना पुगेको छ र सङ्क्रमितको संख्यामा वृद्धि भएर एक हजार १४६ पुगेको छ । चीन बाहिर यतिठूलो संख्यामा संक्रमण भएको कोरिया नै हो । कोरियामा तैनाथ अमेरिकी सेनामा सेवारत एक सैनिकमा पनि कोरोनाको सङ्क्रमण देखिएको छ ।

करिब १० जनाको मृत्यु र ३०० भन्दा बढीमा सङ्क्रमण देखिएको इटालीले ११ वटा शहरमा आवातजावत बन्द गरेको छ । प्रधानमन्त्री जिसेप कोन्टेले योक्रम केही हप्तासम्म जारी रहन सक्ने बताउनुभएको छ ।

नानजिङ शहरका अधिकारीहरूले सियोलबाट मङ्गलबार आइपुगेको बिमानमा सवार तीन जनालाई ज्वरो आएपछि ९४ जनालाई क्वारेन्टाइनमा राखेको बताएका छन् ।


सम्बन्धित खबरहरु