दिल्लीमा दंगा : मृतकको संख्या १३ पुग्यो, १५ हजार नेपाली त्रासमा

ओकेखबर संवाददाता १४ फाल्गुन २०७६, बुधबार ०७:५७ मा प्रकाशित ( साल अघि) ५४३ पाठक संख्या

नयाँदिल्ली । भारतको राजधानी नयाँदिल्लीको उत्तरपूर्वी क्षेत्रमा दिल्लीमा नागरिकता संशोधन ऐनको विरोध र समर्थनमा भएको हिंसात्मक प्रदर्शन भएपछि दशकौपछि ठूलो दंगा भएको छ ।
तीन दिनअघि सुरु भएको प्रदर्शन भड्किँदा पछिल्लो २४ घण्टामा १३ जनाको ज्यान गएको छ भने डेढ सयभन्दा बढी घाइते भएका छन् । ठूलो मात्रामा निजी र सार्वजनिक सम्पत्तिमा क्षति पुगेको छ ।

सोमबार कतिपय स्थानमा साम्प्रदायिक (हिन्दु–मुस्लिम) रूप लियो । यस क्रममा जीउधनको क्षति भएको छ । मंगलबार दिल्लीको उत्तरपूर्वी क्षेत्र थप तनावपूर्ण बनेको थियो । उग्र भीडले पत्रकारहरूमाथि पनि हमला गरेको छ । हमलामा एनडीटीभी, एबीपीका पत्रकारहरू घाइते भएका छन् । केही पत्रकारमाथि गोली प्रहार भएको छ ।

नरेन्द्र मोदी सरकारले तीन महिनाअघि नागरिकता ऐनमा संशोधन गरेपछि त्यसको विरोधमा भारतभर प्रदर्शन हुँदै आएको छ । दिल्लीको साहिन वागमा दुई महिनादेखि प्रदर्शन भएको थियो । उक्त प्रदर्शनप्रति भारतीय जनता पार्टीका कार्यकर्ता सुरुदेखि नै असन्तुष्ट थिए ।

त्यसो त दिल्लीमा भड्किएको हिंसाले त्यस क्षेत्रमा बस्ने नेपालीलाई क्षति नपुगे पनि उनीहरूमा त्रास बढेको छ । हिंसात्मक घटना भएका क्षेत्रमा नेपालीको बाक्लै उपस्थिति छ । दिल्लीको उत्तरपूर्वी क्षेत्रमा करिब पन्ध्र हजार प्रवासी नेपाली रहेको अनुमान छ । हालसम्म नेपालीलाई कुनै क्षति भने पुगेको छैन । उनीहरूमा दंगा थप भड्किने हो भन्ने त्रास भने छ ।


सम्बन्धित खबरहरु