दिल्लीमा भयानक दङ्गा, १० को मृत्यु

ओकेखबर संवाददाता १३ फाल्गुन २०७६, मंगलवार १९:०८ मा प्रकाशित ( साल अघि) ७९३ पाठक संख्या

नयाँ दिल्ली । भारतको राजधानी दिल्लीमा नयाँ नागरिकतासम्बन्धी कानुनको पक्ष र विपक्षमा उत्रिएका प्रदर्शनकारीहरूबीच दङ्गा भड्किँदा त्यहाँ दशकौँयताको सबभन्दा खराब हिंसा भएका छन्।

कम्तीमा १० जनाको ज्यान गइसकेको छ। तीमध्ये एक प्रहरी थिए। कैयौँ प्रहरीसहित डेढ सय मानिस घाइते भएका छन्।

लाठी र ढुङ्गा बोकेका भिडले कुटपिट गर्दै हिँड्ने हिन्दूवादी समूहसँग सम्बन्धित नारा लगाएका छन्।

हिंसाले साम्प्रदायिक स्वरूप ग्रहण गरिरहेको छ। हिन्दू र मुस्लिम भिडबीच झडप भएका छन्। पसल तथा घरहरू जलाइएका छन्।

पत्रकारहरूमाथि पनि हमला भएका छन्। उनीहरूलाई दङ्गाको दृश्य भिडिओ नखिच्न चेतावनी दिइएका छन्। भारतका गृहमन्त्री अमित शाहले शान्तिको अपिल गरेका छन्।

गृहमन्त्रालयले उत्तेजक बयानबाजी नगर्न चेतावनी दिएको छ तथा दिल्लीको छिमेकी राज्यहरू उत्तर प्रदेश र हरियाणासँगको सिमानामा निगरानी बढाएको छ। हिंसाले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको भारत भ्रमण समेत छायाँमा पारेको छ। बीबीसी


सम्बन्धित खबरहरु