चार सय ट्यांकरको ताला खोल्ने ‘मास्टर की’ कसले बनायो गायब !

ओकेखबर संवाददाता १३ फाल्गुन २०७६, मंगलवार ०७:२२ मा प्रकाशित ( साल अघि) ३७२ पाठक संख्या

काठमाडौं, १३ फागुन । नेपाल आयल निगमकोे सिनामंगलस्थित सबैभन्दा ठूलो हवाई इन्धन डिपोमा तेल बोकेर आउने सबै ट्यांकरको ताला खोल्ने साझा साँचो (मास्टर की) हराएको छ । १९ माघमा साँचो हराएको पुष्टि भएको हो । तर, अहिलेसम्म भेटिएको छैन ।

हराएको ‘मास्टर की’ले भारतीय आयल कर्पोरेसन (आइओसी) को रक्सौल डिपोदेखि सिनामंगलस्थित निगमको हवाई इन्धन डिपोमा तेल ओसार्ने एक सय ८१ ट्यांकरको ताला खुल्छ । त्यस्तै, बागमती प्रदेशमा इन्धन वितरण गर्ने थानकोट डिपोका दुई सय ट्यांकरको लक पनि सोही साँचोले खोल्न मिल्छ ।

साझा साँचो हराएको संयोग ट्यांकर चालकको माग सम्बोधन भएको समयसँग मिलेको छ । तापक्रम नोक्सानीबापत तेलको जति परिमाण देखाए पनि निगमले छुट दिने लिखित सहमति १४ माघमा आयल निगम र ट्यांकर चालकबीच भएको थियो । सिनामंगल डिपोमै तेल ओसार्दै आएका ट्यांकर चालकले राखेको माग निगमले सम्बोधन गरेको थियो । त्यसको ५ दिनपछि साँचो हराएको पत्ता लागेको हो । साँचो चालकको हातमा परेको भए आइओसीबाट तेल बोकेर आउनले ट्यांकर बाटैमा रोकेर केही परिमाण तेल चोर्न सहज भएको छ । चोरी गरेको तेल परिमाणलाई चालकले तापक्रम नोक्सानीमा देखाइदिन सक्छ । यसकारण साँचो चालककै हातमा पुगेको अनुमान छ ।

‘ ट्यांकरको प्रत्येक चेम्बरमा केही परिमाण तेल झिक्यो भने अहिले कारबाही नहुने व्यवस्था छ । त्यसैले हराएको साँचो ट्यांकर चालकको हातमा पुगेको हुनुपर्छ,’ निगमको केन्द्रीय कार्यालयका एक कर्मचारीले भने ।

१ चैत ०७४ देखि तेल चोरी गर्न नमिल्ने लकिङ लगाउन थालेपछि चालकहरूले विरोध गरेका थिए । हवाई इन्धन डिपोमै इन्धन ओसार्ने चालक संगठनका अध्यक्ष पशुपति पाठकले त इन्धन चोरी गर्न पाउनुपर्ने भन्दै सार्वजनिक मञ्चबाटै उद्घोष गरेका थिए । तत्कालीन निमित्त प्रमुख सुशील भट्टराईले पनि लकिङलाई साथ दिन अनुरोध गर्दै चालकहरूलाई केही न केही सुविधा दिने आश्वासन दिएका थिए ।

नयाँपत्रिका लेख्छ, साँचो हराएको विषयमा छानबिन गर्न नायब प्रबन्ध निर्देशक विशाल ओझाको संयोजकत्वमा २३ माघमा कमिटी गठन भएको छ । तर, यो कमिटीले अहिलेसम्म चोरी घटनाबारे ठोस प्रमाण फेला पारेको छैन । स्रोतका अनुसार डिपो प्रमुख महेशमान श्रेष्ठको कार्यकक्षमा पासवर्डसहितको गोदरेज दराजमा दुईवटा मास्टर की राखिएको थियो । त्यसमध्ये एउटा हराएको हो । प्रत्येक ट्यांकरमा रहेको ताला खोल्न अलग्गै साँचो पनि हुन्छ । तर, त्यस्तो साँचोले एउटाबाहेक अर्को ताला खुल्दैन ।

‘मास्टर की राखिएको दराजको पासवर्ड डिपो प्रमुखलाई मात्र थाहा हुन्छ, अरूलाई थाहा हुन्न,’ स्रोतले भन्यो । बिहान खाली भएका ट्यांकर डिपोबाहिर पठाउनुअघि ताला लगाउन मास्टर की झिक्ने र बेलुका डिपो परिसरमा रहेका ट्यांकरको ताला लगाउन मास्टर की झिक्ने गरिन्छ । यसरी मास्टर की झिक्दा र राख्दाको समय र कर्मचारीको नामसमेत रजिस्ट्ररमा नियमित रूपले राख्ने गरिन्छ ।

सिनामंगल डिपो प्रमुखले भने मास्टर की राखेको दराजको पासवर्ड केही कर्मचारीलाई समेत दिएको निकटस्थलाई बताउने गरेका छन् । उनले तिनै कर्मचारीलाई दोष देखाउने गरेका छन् । ‘मैले विश्वास गरेका कर्मचारीले नै मास्टर की गायब गरिदिए भनेर डिपो प्रमुख श्रेष्ठले गुनासो गर्दै आएका छन्,’ स्रोतले भन्यो ।


सम्बन्धित खबरहरु